१७ होटेल तथा नास्ता पसलको अनुगमन
स्काई न्यूज /पुस २७, सुर्खेत । संयुक्त बजार अनुगमन टोली सुर्खेतले वीरेन्द्रनगरका साना होटेल, रेष्टुरेन्ट नास्ता तथा मिठाई पसलको अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको नेतृत्वमा मंगलबार वीरेन्द्रनगर बसपार्क वरीपरीका १७ वटा साना होटेल, रेष्टुरेन्ट, नास्ता तथा मिठाई पसलहरुको अनुगमन गरेको हो । टोलीले अधिकांस होटेल, रेष्टुरेन्ट, नास्ता तथा मिठाई पसलहरुको भान्सा फोहोर भएको, बढि मात्रामा रङ्गको प्रयोग भएको, एउटै तेल पटक–पटक प्रयोग गरेको पाईएपछि ‘स्पट एक्शन’ तुः कार्वाही अन्तर्गत विक्रेतालाई नै नष्ट गर्न लगाईएको छ ।
अनुगमनका क्रममा धेरै पसलहरु दर्ता बिनै सञ्चालन गरेको पाईएपछि ७ दिन भित्र पसलहरु दर्ता गर्न निर्देशन दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । उनले निर्देशन दिईएका पसलहरुले अबको ७ दिन भित्र दर्ता नगरे सदाका लागि बन्द गरिने जानकारी दिए । उनका अनुसार संयुक्त अनुगमन टोलीको निर्देशनलाई अवज्ञ गर्ने पसलका सञ्चालकलाई कानून बढी से बढी कार्वाही गरिने छ । ‘पटक–पटक प्रयोग गरेको तेल हो वा हैन भनि स्पटमै डिजिटल मेसीनबाट जाँच्दा टोटल पोलर मेटेरिएल (टीपीएम) धेरैजसोमा २५% भन्दा बढी आएकाले करीव २५ लिटर तेल नुट गरियो,’ उनले भने, ‘बढि मात्रामा रङ्ग प्रयोग गरीएको रोस्ट तथा सेकुवा बनाउने मासु ७ किलो, चटनी र २ किलो पकौडा समेत स्पट नष्ट गरेका छौं ।’
उनले विक्रेतालाई भान्साको दैनिक सरसफाई गर्ने, पत्रिकाले खानेकुरा नछोप्ने, रङ्ग प्रयोग नगर्ने तथा एउटै तेल पटक–पटक प्रयोग नगर्न निर्देशन समेत दिएको जानकारी दिए । उनका अनुुसार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसँगै जिल्ला प्रसाशन कार्यालय, वीरेन्द्रनगर नगरपालिका, नगर प्रहरी, उद्योग तथा उपभोक्ता हित निर्देशनालय, राष्ट्रिय उपभोक्ता मञ्च तथा सुर्खेत स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।