हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन

२२ वटा योजना प्रभावित

पुस ३०, सिमकोट । कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन हुँदा विकास निर्माण प्रभावित भएको छ । आयोजनाका प्रमुखविहीन हुँदा दुई दर्जन योजना प्रभावित भएको हो । आयोजनामा कार्यरत प्रमुख बिसुनदास लामा आफ्नो सरुवा भएपछि पुस २१ गते रमाना लिएर गएका थिए । लामा गएको सातादिन बित्दा पनि आयोजनाले नयाँ प्रमुख पाएको छैन। निमित्तको जिम्मेवारी सम्हाल्दै आएका इन्जिनियर निरजकुमार राजवंशी पनि कामको सिलसिलामा काठमाडौँतर्फ लागेका छन् । जसले गर्दा आयोजनामा तल्लो तहका कर्मचारीमात्रै रहेका छन्।

आयोजनाका कम्प्युटर अपरेटर अर्जुन रोकायाले दश दिनदेखि आयोजना प्रमुखविहीन भएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा २५ वटा योजना सञ्चालन हुँदै आएका छन् । जसमध्ये हालसम्म तीन वटा योजनामात्रै सम्पन्न भएको उनले बताए । तर आयोजना प्रमुखविहीन हुँदा बाँकी २२ वटा योजनाको काम प्रभावित भएको रोकायाले जानकारी दिए ।

कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डको ताग्रु खोलामा पुलको काम गर्दै आएको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले आयोजना प्रमुखविहीन हुँदा विकास निर्माण प्रभावित भएको बताए। उनले आफ्नो कम्पनीले पुल निर्माण सकाए पनि आयोजना प्रमुख नहुँदा त्यसको भुक्तानी लिन नपाएको गुनासो गरे । आयोजनाअन्तर्गत पाँच वटा पक्की पुल, एउटा बेलिब्रिज र १६ वटा सडक निर्माणसम्बन्धी योजना रहेका छन् । यी योजनामध्ये बढीमा २२ करोड र घटीमा एक करोड बजेट विनियोजित भएर निर्माण सम्झौता भइसकेको आयोजनाले जनाएको छ ।

संघीय सरकारअन्तर्गत सबैभन्दा बढी बजेट भएका आयोजनामध्ये हिल्सा सिमकोट सडक आयोजना पर्छ। चालु आर्थिक वर्ष आयोजनाका लागि ५५ करोडभन्दा बढीको बजेट व्यवस्था भएको छ। आयोजनाका अधिकांश काम हिमपातले असर नपर्ने क्षेत्रमा भएको कारण अहिले काम गर्ने उपयुक्त समय हो । तर आयोजना प्रमुखविहीन हुँदा काममा बाधा पुगेको निर्माण व्यवसायी तथा स्थानीयको भनाइ छ । उनीहरुले विकास निर्माणको काम गर्ने आयोजना धेरै समयसम्म प्रमुखविहीन हुन नहुनेमा जोड दिएका छन् । (देश सञ्चार)

Translate »