सुर्खेतमा स्मार्ट लकडाउन शुरु

स्काई न्यूज /माघ १ गते सुर्खेत । सुर्खेतमा शनिबार राती १२ बजेदेखि स्मार्ट लकडाउन शुरु गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन स्मार्ट लकडाउन शुरु गरिएको हो । कोभिड–१९, संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) एवं गृह मन्त्रालयको संक्रमण रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा तीनले दिएको अधिकार प्रयोग गरि जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्माट लकडाउनका लागि १२ बँदे निर्देशन जारी गरेको छ । अब जिल्लाका कुनैपनि स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने प्रशासनले निर्देशन जारी गरेको छ । माघ ७ देखि कुनैपनि सरकारी सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनु पर्ने छ । त्यस्तो खोपकार्ड मोवाईलमा फोटो खिंचेर देखाएपनि हुने बताईएको छ ।

बढ्दो कोभिड संक्रमणलाई दृष्टिगत गरि सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरि प्रशासनिक, सामाजिक आर्थिक, व्यवसायिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्न पाईएने छैन् । घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने समय–समयमा सावुन पानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्णरुपमा पालना गर्नु पर्नेछ । अतिआवश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरि कार्यक्रम गर्न सकिनेछ ।

सार्वजनिक सेवा प्रवाहमा भिडभाड हुने कार्यालयहरुमा भिडभाड नहुने उपयुक्त तरिका आलोपालो, टोकन प्रणाली आदीको अनिवार्य व्यवस्था मिलाउनु पर्नेछ । सुर्खेत जिल्ला स्थित समपूर्ण शिक्षण संस्थाहरु २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न निस्तेज गरिएको छ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेस्टर÷वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरि सञ्चालन गर्न सकिने बताईएको छ । जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका एम्बुलेन्स, कोभिड–१९, उपचार केन्द्र तथा आईसोलेशन केन्द्रलाई सुदृढ गरि सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्नु पर्नेछ ।


अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९, को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्त्ररण गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने । सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानीटाईजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सह–चालकले अनिवार्य मास्क, भाईजर र पञ्जा लगाउने र अनिवार्यरुपमा सवारीसाधन दैनिक स्यानीटाईजर गर्नुपर्ने छ ।

औषधीलगायत अतिआवश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य बृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून वमोजिम कार्वाही गरिने छ । औद्योगिक तथा व्यवसायिक संस्था, फर्म, तथा पसलहरुले स्वास्थ्यका मापदण्ड तथा पोर्टेकलहरुको कडाईका साथ पालना गरि गराई औद्योगिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्न पाईनेछ । कोभिड–१९, सम्बन्धि आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा अकास्मित अनुगमन गरिने छ । अनुगमनका क्रममा आदेशको अवज्ञा भएको पाईएमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही हुने बताईएको छ ।

Translate »