नेपाल राष्ट्र बैंकले भन्यो : क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार गर्नेलाई कारबाही हुन्छ
माघ ९, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङको कारोबार नगर्न पुन : सचेत गराएको छ ।
राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ तथा व्यवसाय नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै यस्तो कारोबारमा संलग्न रहेको पाइएमा कानूनी कारबाही हुने चेतावनी दिएको छ ।
छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाएर यस्ता कारोबार भइरहेको भन्दै केन्द्रीय बैंकले कारोबार गर्ने, कारोबारमा आबद्ध हुन प्रोत्साहन गर्ने र यससँग जोडिएका व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।
नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा क्रिप्टोकरेन्सीले मान्यता नपाएको र यसरी लगानी गर्दा सर्वसाधारण ठगिने र देशको रकम अवैधानिक तरिकाले बाहिरिने भएकाले यस्ता कारोबार नगर्न पनि उसले भनेको छ ।
केहि दिनअघि मात्र महानगरीय अपराध महाशाखा काठमाडौंले क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीन जनालाई काठमाडौंको मिनभवनबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा पर्बत जिल्ला फलेबास – ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ वर्षका राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका – ४ ईटहरी बस्ने २५ वर्षका बिशाल श्रेष्ठ र काठमाडौं महानगरपालिका -११ थापाथली बस्ने २७ वर्षका दिपेनराज श्रेष्ठ रहेका थिए ।
उनीहरुमध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग १ हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको प्रहरी महाशाखाले बताएको छ।
प्रहरीले पनि नेपालमा क्रिप्टो करेन्सी को कारोबार गर्ने गराउने कार्य नेपालको कानून बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न/ नगराउन भनेको छ । (आर्थिक अभियान)