दुई जिल्ला जोड्ने भेरी पुल दश वर्षदेखि अलपत्र

बद्री पन्त / माघ १०, जाजरकोट । मध्यपहाडी लोकमार्ग आयोजनाको पूर्व पश्चिम जोड्ने उद्देश्यले भेरी नदीमा निर्माण थालिएको पक्की पुल निर्माणको काम १० वर्षदेखि अलपत्र परेको छ ।

ठेकेदारको लापरबाहीले पुल लामो समयदेखि अलपत्र परेको हो । पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदी पुल निर्माण अलपत्र परेको छ । मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गतको उक्त पुल दश बर्ष देखि निर्माण अलपत्र परेको हो । पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल जोडिन सकेको छैन ।

२०६९ मा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । तर निर्माणको जिम्मा लिएको वाईपी कन्स्ट्रक्सन प्रा.ली. ललितपुरको लापरबाहीले अहिलेसम्म दुई वटा पिलरको आधा काम पनि भएको छैन । १३ करोड ४७ लाख लागतमा उक्त पुल निर्माणको ठेक्का पाएको वाईपीले ३ वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पिलर ठड्याउने डिजाइन फेल भएको बहाना गर्दै निर्माण कम्पनीले बीचैमा काम अलपत्र छाडेको छ ।

हालसम्म ठेकेदारलाई कारबाहीको दायरामा ल्याई निर्माणको काम छिटो सक्नु पर्ने हो । पुल निर्माणमा भएको ढिलाइले दुई जिल्लाको विकास निर्माणमा बाधा पुगेको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माको भनाई छ ।

वर्षौँ बितिसक्दा पनि ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका १३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताए  । लामो समय देखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठुलो असर परेको उद्योग वाणिज्य सङ्घ चौरजहारीका अध्यक्ष प्रेम सुनारको भनाइ छ ।

छिटोछरितो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक पटक अनुरोध गरेपनि व्यवसायीले अटेरी गर्दा समस्या भोग्नु परेको अध्यक्ष सुनारको भनाइ रहेको छ । १ सय मिटर लम्बाइ रहेको पुल नबन्दा स्थानीयवासी सकसपूर्ण लामो यात्रा गर्न बाध्य छन् । त्यस्तै पुल निर्माण अलपत्र पर्दा चौरजहारीमा नयाँ“ शहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । भेरी पुल नबन्दासम्म रुकुमको चौरजहारी र जाजरकोट समुन्द्र पारीका दुई भिन्न देश जस्तै भएका नगर प्रमुख शर्माले भने ।

सरकारले ठेक्का तोड्ने भन्दा पटक पटक म्याद थप्दा समेत ठेकेदारले पुल निर्माणको काम नगरेको देखिन्छ, उनले भने । मध्यपहाडी लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा पिचको काम अन्तिम चरणमा पुगेको छ तर पुल नबन्दासम्म र जसले गर्दा रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठुलो बाधा पुर्‍याएको बताइएको छ । पुल बने पूर्व इलामको चिबाभञ्ज्याङ्ग हुँदै पश्चिम दार्चुला झुलाघाट मध्यपहाडी लोकमार्ग आयोजनाको दूरी छोटिने छ । यो पुल निर्माण भए पूर्व पश्चिम जाजरकोट, दैलेख, बागलुङ, काठमाडौँलगायत जिल्लाको यात्रा सहज हुने बताइएको छ ।

Translate »