घर घरमा खानेपानीको धारा जडान भएसँगै सिर्पाबासी खुसी

दीपक शर्मा / माघ २०,सल्यान । सल्यानको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीको धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन् । एक घर एक धारा जडान गरेसँगै असुरक्षित र पानीका लागि धाउनु पर्ने सास्ती हटेको छ । अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घर घरमा धारा जडान गरिएको सिर्पा खानेपानी तथा जलवायु अनुकूलन कार्यक्रममा अध्यक्ष शेर बहादुर वलीले बताए । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसीयाली छाएको उनको भनाई छ ।
घर घरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने समयमा पढ्ने अवसर पाएको निरुता सुनारले बताए । खानेपानी भर्नेकै विषयमा समाजमा भईm झगडा हुने गरेकोमा अहिले त्यो समस्या समेत समाधान भएको उनको भनाई छ ।

७० घरधुरीलाई पाँच वटा मात्र सामुदायिक धारा भएको र ती धारा पनि व्यवस्थित नहुँदा सबैमा पानी आउने समस्या झेल्दै आइरहेका सिर्पाबासीका लागि एक घर एक घारा आएपछि निकै सहज भएको विनिता वि.कले बताए। गाउँदेखि झन्डै १४ सय मिटर टाढाबाट ल्याएर घरघरमा खानेपानीको व्यवस्था भएको उनको भनाई छ ।
नेपाल जलवायु परिवर्तनको ४० लाख र जनश्रमदान १२ लाख ३१ हजार २ सय ४ रुपैयाँ गरी ५२ लाख ३१ हजार २ सय ४ रुपैयाँको लागतमा ७१ वटा धारा निमार्ण गरिएको निमार्ण समितिका अध्यक्ष शेर बहादुर वलीले बताए। ७० घरमा एक घर एक धारा र एक धारा सार्वजनिक स्थलमा निर्माण गरिएको उनको भनाई छ ।