सवारी चालक परीक्षामा पास हुने भन्दा फेल धेरै

स्काई न्यूज /माघ २९, सुर्खेत । चालक अनुमति पत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) लिने प्रणाली सरल, व्यवस्थित एवं सहज नहुँदा पास गर्नेको भन्दा फेल हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । सरकारले सवारी चालक अनुमति पत्र पाउने प्रणालीलाई सरलीकरण गर्ने बताएपनि कार्यान्वयन पक्ष फितलो हुँदा सवारी चालकको परीक्षामा पास गर्ने भन्दा फेल हुनेको संख्या बढी भएको हो । सुर्खेतमा व्यवस्थित, सस्तो, सुलभ ड्राईभिङ्ग सेन्टर नहुँदा सवारी चालक परीक्षाको तयारी गर्नेहरुलाई कठिनाई हुने गरेको छ । अहिले सवारी चालक सिख्न चाहनेहरुले नीजि ड्राईभिङ्ग सेन्टरमा चर्को रकम खर्चिनु पर्ने बाध्यता छ ।

सवारी चालक परीक्षा दिनेहरुका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले विशेष व्यवस्था गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत प्रतिनिधि कुमारी भुसालले बताईन् । उनले सवारी चालक परीक्षा दिनका लागि सेवाग्राहीले आर्थिकसँगै मानसिक दौडधुप गर्नुपर्ने बाध्यता रहेको जनाईन् । उनका अनुसार सेवाग्राहीबाट वार्षिक करिब १५/२० करोड रुपैयाँ राजश्व संकलन गर्ने यातायात कार्यालयले सेवाग्राहीका समस्याप्रति समेत जिम्मेवार बन्न जरुरी छ । यसैवीच यातायात व्यवस्था कार्यालयले शनिबार लिएको सवारी चालकको परीक्षामा समावेश हुनका लागि ४ सय २८ जनाले निवेदन दिएका मध्ये ५४ जना अनुपस्थित भएका छन् ।

परीक्षामा सहभागी भएका ३ सय ७४ जना मध्ये २ सय ७० जना फेल भएको कार्यालयका प्रमुख आनन्द चपाईले बताए । उनले शनिबार आयोजना गरिएको सवारी चालक अनुमति पत्रको परीक्षामा १ सय ४ जना उर्तिण भएको जानकारी दिए । उनका अनुसार मोटरसाईकलतर्फ ६३ जना, स्कुटी तर्फ १४ जना र कार, जीप भ्यानतर्फ २७ जना मात्र उर्तिण भएका हुन् ।

परीक्षा दिने भन्दा तमाशा हेर्ने धेरै
यातायात व्यवस्था कार्यालय सुर्खेतले लाटिकोइलीको बृद्धाआश्रम नजिक चालक अनुमति पत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) लिने स्थानमा परीक्षा दिने भन्दा तमाशा हेर्ने धेरै हुने गरेका छन् । अनधिकृत रुपले ट्रायल सेन्टर बाहिरबाट हुने होहल्लाले परीक्षामा समावेश हुने परीक्षार्थीलाई समेत समस्या हुने गरेको छ । यातायात कार्यालयले ट्रायल सेन्टर वरपर हुने अनावश्यक भिडलाई नियन्त्रण नगरे कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्थानीय बताउँछन् । परीक्षा (ट्रायल सेन्टर) वरपर भिडमा रहेका विचौलियले फेल भएका परीक्षार्थीलाई पास गराई दिन सहजिकरण गरि दिने प्रलोभन दिने गरेको एक प्रत्यक्षदर्शीको भनाइ थियो ।

Translate »