सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी


स्काई न्यूज /फागुन १, सुर्खेत । सुर्खेतबाट बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको छ । आइतबार सुर्खेतबाट बझाङ सदरमुकाम चैनपुर गएको पश्चिम एयरवेसको एमआइ–१७ हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको हो ।

अघिल्लो साता भएको हिमपातका कारण साइपालमा खाद्यान्न ढुवानी हुन नसकेपछि सेनाको हेलिकोप्टरले गाउँपालिकाको वडा ३,४ र ५ मा ६० क्वीन्टल खाद्यान्न ढुवानी गरेको छ । यता बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले साइपालमा हिमपातका कारण सडकमार्गबाट ढुवानीमा समस्या भएपछि सेनाको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको जानकारी दिए ।
उनले हिमपातका कारण साइपाल आसपासका क्षेत्रमा खाद्यान्न अभाव हुन सक्ने भएकाले सेनाको हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको बताए । नेपाली सेनाले सुर्खेतमा पश्चिम एयसवेस स्थापना गरेयता कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशका केही जिल्लामा आपतकालीन अवस्थामा खाद्यान्न ढुवानी, बिरामीको उद्दार र विपद् न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आईरहेको छ ।

