२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 28, 2026

सल्यानका दुई खानेपानी योजना अलपत्र



दीपक शर्मा / फागुन १०, सल्यान । म्याद थप नहुँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सङ्घीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको छ ।

सङ्घीय विशेष अनुदानअन्तर्गत सङ्घले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकाले आह्वान गरेको टेन्डरअनुसार मस्टा जेभी काठमाडौँले २०७८ फागुनमा दमाचौरको लिफ्ट खानेपानीका लागि ६१ लाख र लान्तीको लिफ्ट खानेपानीको लागि मङ्सिरमा १ करोड २२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

योजना अलपत्र पर्दा दमाचौरका ४ सय ३ र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन् । योजना अलपत्र परेपछि अहिले स्थानीयहरू बस्तीबाट लामो बाटो हिँडेर पुराना मुहानबाट ल्याएको पानी पिउन बाध्य छन् ।

ठेकेदार कम्पनीले काममा ढिलाइ गरेका कारण योजनाको काम सम्पन्न गर्ने अवधि सकिएकै कारण लिफ्ट खानेपानी योजना अलपत्र परेपछि घरमै धारामा पानी भर्न पाउने सपना अधुरो भएको दमाचौरकी निर्मला शाहले बताए। उनले खानेपानीका लागि विगतदेखि नै विभिन्न समस्या भोग्दै आएको र एक गाग्री पानीका लागि लामो समय मुहानमा कुर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

यस्तै लान्तिकी विमला घर्तीले योजनाको काम बोरिङमै सीमित रहेपछि अहिले पनि शारदा नदी आसपासका मुहानबाट पानी ल्याएर खानुपर्ने अवस्था रहेको बताए ।

योजनाको काम झन्डै ५० प्रतिशत जति सकेर ठेकेदार सम्पर्कविहीन भएको छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष नेबबहादुर शाहले बताए । योजनाको टंकी निर्माण गरेको र पाइपलाइन विस्तारका लागि पाइप खरिद गरी ल्याए पनि ती सामग्रीहरू झन्डै ६ महिनादेखि त्यत्तिकै थन्किएको उनले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश दाहालले योजनाको काम गर्ने अवधि एक वर्षको मात्र भएको र ठेकेदारले समयमै काम गर्न नसक्दा बजेट फिर्ता गएको र पुनः म्याद नथपिएका कारण योजना अलपत्र परेको बताए । योजनाका लागि ठेकेदारले खरिद गरी ल्याएका सामग्री त्यत्तिकै थन्किएको उनले जानकारी दिए।

उनका अनुसार ठेकेदारले दमाचौरको लिफ्ट खानेपानी योजनाको २७ लाख रुपैयाँ बराबरको र लान्तीको ६० लाख रुपैयाँ बराबरको काम सकेको छ । बजेट अभावमा अहिलेसम्म ३५ लाखभन्दा बढी भुक्तानी दिन सकिएको छैन ।

ठेकेदार कम्पनीका ठेकेदार पदमबहादुर तामाङले भने काम गरेअनुसार भुक्तानी नदिएको र सामान ल्याएर राखे पनि म्याद सकिएकाले काम गर्न नसकेको बताए । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ फागुन १० गते मंगलबार
Translate »