भेरी बबई डाईभर्सन आयोजना : बाँध स्थल निर्माण कार्य तीव्र

स्काई न्यूज /फागुन १०, सुर्खेत ।  नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको भेरी–बबई डाईभर्सन बहुउद्देश्य आयोजना बाँध स्थल निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको तेस्रो चरण अन्तर्गत हाइड्रोमेकानिकल सम्बन्धि कार्यहरु शुरु भएसँगै बाँधस्थल निर्माणको कामले गति लिएको हो ।

आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता पाएको छ । अहिले सिभिलअन्तर्गत हेडवर्क्स, विद्युत् गृह, र सर्ज साफ्टको काम भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेण्डर भएर अब छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । उनका अनुसार अघोषित वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने कामले केही समय व्यवधान पु¥याएप्नि हाल तीव्ररुपमा काम अघि बढिरहेको छ ।

‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माण क्षेत्रमा पाईलिङ्ग कार्य भइरहेको छ,’ उनले भने, ‘कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी कामलाई अहिले तीन सिफ्टमा अघि बढाईरहेका छौं ।’ उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए ।

उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ३९ दशमलव ८० तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत हासिल भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये माघ मासन्तसम्म ५५ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० मा सक्ने कार्यादेश पाएको छ । गत मंसिरमा संघीय मन्त्रिपरिषद् बैठकले २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेसँगै आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको सूचना अधिकारी सुवेदीले बताए । उनले आयोजना प्रभावित क्षेत्रका छुटेकालाई हाल क्षतिपूर्ति दिने कार्य प्रक्रियामा रहेको जनाए ।

उत्साहजनक प्रगति
आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म समष्टिगतरुपमा अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाईर्सनको भौतिक प्रगति सन्तोषजन देखिन्छ । कोभिड–१९ र अन्य कारणका बावजुद आयोजनाले निर्माण गतिलाई तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्ने गरि काम अघि बढाएको आयोजना प्रमुख हरिनारायण यादवले बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा आयोजनाको ५३ दशमलव ५ प्रतिशत भौतिक प्रगतिलाई उत्साहजनक मान्न सकिने जिकिर गरे ।

सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।

आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । सरकारले आन्तरिक स्रोतबाट विद्युत र सिंचाई पु¥याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सात वटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।

Translate »