आठौँ गाउँ सभाबाट पातारासीमा ८ वटा ऐन तथा कार्यविधि पारित


सागर परियार / फागुन १४,जुम्ला । पातारासी गाउँपालिकाको आठौँ गाउँ सभाबाट ८ वटा ऐन कार्यविधि पारित भएका छन् ।
पालिकाको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन, आर्थिक सुशासन कायम राख्न तथा पूर्वाधार विकासदेखि शैक्षिक व्यवस्थापनका लागि १ वटा ऐन र ७ वटा विभिन्न कार्यविधि गरी ८ वटा ऐन र कार्यविधि पारित भएका हुन् ।
आठौँ गाउँ सभाले पातारासीको प्राकृतिक संरक्षणदेखि पर्यापर्यटन विकास प्रवर्द्धनका लागि वातावरण संरक्षण ऐन २०७८ पारित भएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
उनका अनुसार ऐन कानुन कार्यविधि निर्माणसँगै प्रभावकारी कार्यान्वयनले पालिकाका हरेक गतिविधि पारदर्शी हुनेछन् ।
त्यस्तै आठौँ गाउँ सभाबाट ७ वटा विभिन्न कार्यविधि पास भएका छन् । जसमा विभिन्न योजनाको कन्टीजेन्सी रकम व्यवस्थापन कार्यविधि २०७८, शैक्षिक व्यवस्थापन कार्यविधि २७८, मर्मत सम्भार कोष व्यवस्थापन कार्यविधि २०७८ लगायतका ७ वटा कार्यविधि पारित भएको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए ।

‘कन्टीजेन्सी बापतको बजेट सही ठाउँमा कार्यान्वयन भएको देखिन्न । कार्यालयको भैपरी खर्च भए पनि सिङ्गो बजेट कहाँ जान्छ ? प्रति योजनाबाट काँटेको कन्टीजेन्सी रकम कुन ठाउँ लगानी हुन्छ ? भनेर धेरै प्रश्न आउँछ । हामीले कार्यविधि नै पास गरेर कन्टीजेन्सी रकम खर्चको मापदण्ड तय गरेका छौ ।’, उनले भने ।
वर्षको अन्तिममा सार्वजनिक सुनुवाइमार्फत आम नागरिकलाई कन्टीजेन्सी रकम कहाँ खर्च भयो भन्ने प्रष्ट गरिने उनको भनाई छ ।
जुम्लाका अन्य स्थानीय तहले हालसम्म कन्टीजेन्सीको रकम कसरी खर्च गर्ने भन्ने बारे ठोस नीति बनाएका छैनन् । कार्यालयको खर्चदेखि अतिथि सत्कार, खाना खर्च जस्ता ठाउँमा फजुल खर्च हुने गरेको छ । तर पातारासीले यस्ता फजुल खर्चलाई मितव्ययी बनाउन कन्टीजेन्सी रकम व्यवस्थापन कार्यविधि २०७८ पारित गरेको हो ।
त्यस्तै, पातारासीको शैक्षिक अवस्था दयनीय छ । शैक्षिक क्षेत्रको लागि कुनै ठोस नीति छैन । त्यसैले शैक्षिक व्यवस्थापन कार्यविधि–२०७८ पारित भएको छ । पातारासीका अध्यक्ष लक्षिमन बोहोराले कार्यविधिमार्फत पातारासीको शैक्षिक सुधारमा योजनागत रुपमा अघि बढ्ने बताए ।
‘पातारासीको साक्षरता दर ४० देखि ४५ प्रतिशत छ । बाँकी नागरिक अझै निरक्षर छन् । जडीबुटी टिप्ने, काला पहाड जाने, बालविवाह गर्ने यहाँको मुख्य समस्या हो । शैक्षिक व्यवस्था कार्यविधिमार्फत यस्ता सबै समस्याको न्यूनीकरण गरी गुणस्तरीय शिक्षा प्रदानमा पालिकाले जोड दिने छ ।’, उनले भने।
आठौँ गाउँ सभाबाट पारित भएका ८ वटा ऐन कानुनसँगै पातारासी गाउँपालिकाले हालसम्म जम्मा १७ वटा ऐन कानुन पारित गरेको पालिकाको तथ्याङ्कमा उल्लेख छ । (रेडियो नेपाल)

