जुनीचाँदे गाउँपालिकामा अझै बैंक पुगेन्
अमृता शर्मा / फागुन १९, जाजरकोट । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन । नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि कर्णालीको एउटा स्थानीय तह अझै बैंकविहीन छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैन् ।
जुनीचाँदेमा कृषि विकास बैंकले शाखा खोल्ने जिम्मा पाएका थियो । त्यो बैंकले सडक, विद्युत्, इन्टरनेट टेलिफोनजस्ता सञ्चार साधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न नसकेको जवाफ राष्ट्र बैंकलाई दिएको छ । पालिकामा बैंक नहुँदा विकासका योजना सञ्चालन गर्नै कठिन भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ । ‘कतिपय कारोबार बैंकिङ प्रणालीबाट मात्रै छ । वृद्धाभत्ता, कर्मचारीलाई तलब बैंकबाटै गर्नुपर्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर बस्नेतले गुनासो गरे । सडक छैन। धेरै काम गर्न सदरमुकाममै जानुपर्ने बाध्यता छ ।
बैंकले दुर्गममा भौगोलिक विकटतालगायतका समस्या देखाउँदै त्यहाँ आफ्नो शाखा खोल्न सकेको छैन् । दुर्गम स्थानीय तहमा बैंकलाई आवश्यक पर्ने स्रोतसाधनको अभावले शाखा विस्तार गर्न नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन् । जनप्रतिनिधि तथा सर्वसाधारणबीच विवाद कायमै रहेकाले जुनीचाँदेमा शाखा खोल्न नसकेको उनले बताए ।
बैंकले कर्मचारी खटाई सदरमुकामबाट सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । दुर्गममा बैंक नपुग्दा वृद्ध भत्ता बुझ्नदेखि सम्पूर्ण कामका लागि सदरमुकाम नै धाउनुपर्ने अवस्था छ। थोरै जनसंख्या भएकाले पनि बैंक जान नमानेको हुन सक्ने बुझाइ छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकासँगै धादिङको रुविभ्याली र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैनन् ।