लाइन विस्तार भएको डेढ दशकमा पनि बलेन बिजुली
फागुन २०, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा विद्युतका पोल गाडेर लाइन विस्तार भएको १५ वर्ष बितिसक्दा समेत बिजुली बल्न सकेको छैन । नरहरिनाथ गाउँपालिकाका लालु, माल्कोट, कोटबाडा, रुप्सा र कुमालगाउँमा साविकका गाउँ विकास समितिले विद्युतका पोल र तार गाडेको १५ वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो ।
‘गाडेका पोलमा तार झुन्ड्याइएको छ, तर बत्ती बलेको छैन, स्थानीय भन्छन्, ‘अहिलेसम्म पोल र तार हेरेरै बत्ती बल्ने सपना देखिरहेका छौं ।’ हचुवाका भरमा विगतमा साविकका गाविसले विकास अनुदानको बजेट र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट ती पोल र तार गाडिएका हुन् । पोल गाडिएको वर्षौं भइसक्दा पनि त्यहाँ कुनै लघुजलविद्युत् आयोजना पनि बनेका छैनन् । न कतैबाट विद्युत् ल्याउन तयारी भएको छ । विगत १५ वर्षअगाडि गाडिएका ती पोल र झुन्ड्याइएका तारमा अहिले विद्युत प्रवाह नभईकनै खिया लागेर करोडौंको नोक्सान भएको बताइएको छ ।
साविकका गाविस र कर्णाली रोजगार कार्यक्रमको बजेटबाट खरीद भएका कैयौं पोलहरू लालीघाट र जितेबजारमा अलपत्र अवस्थामा रहेको नरहरिनाथ गाउँपालिका–९ का शिक्षक नवराज शाहीले बताए । ‘गाविस र कर्णाली रोजगारको पैसा दुरुपयोग गर्न मात्र बिजुलीका पोल खरिद गर्ने निर्णय गरिएको छ,’ उनले भने, ‘विद्युतको आयोजना नै नभएको ठाउँमा किन पोल र तार चाहियो ?’ पोल र तारमा साविकको लालु गाविसले आव २०६७/६८ मा कर्णाली रोजगार कार्यक्रमबाट ४५ लाख र गाविसको २७ लाख खर्च गरेको छ भने माल्कोट गाविसले पनि लाखौं खर्च गरेको बताइएको छ । त्यस्तै कुमालगाउँ गाविसले आव २०७०/७१ को विकासे अनुदानबाट २५ लाख खर्च गरेर पोल खरिद गरिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष अग्रबहादुर विष्टले बताए ।
विद्युत आयोजनाको पूर्वाधार निर्माण नगरी गाउँमा पोल र तार कतै गाडिनु, त पोल र तार अलपत्र अवस्थामा छोड्नुका मुख्य कारण आर्थिक सहायता दुरुपयोग गर्नु नै रहेको नरहरिनाथ गाउँपालिका–९ लालुस्थित जनप्रभात माविका प्रधानाध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । करोडौं रकम खर्च गरेर गाडिएका बिजुलीका पोल र तार अहिले अलपत्र अवस्थामा छन् ।
अहिले राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी भइरहेको नरहरिनाथ गाउँपालिकाले बताएको छ । गाउँपालिकाका सबै क्षेत्रमा बिजुलीका पोल गाडिएको र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली लैजाने तयारी थालिएको बताइएको छ । रासस