कर्णाली प्रदेशलाई खेल पर्यटनसंग जोड्ने प्रयास

तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथन हुने

फागुन २० जुम्ला । कर्णाली प्रदेशको पर्यटन विकासलाई प्रवर्धन गर्न यहाँका स्थानिय क्लबले खेल लाई पर्यटनसंग जोड्ने भएका छन् । जुम्ला मात्रै नभई समग्र कर्णालीको संस्कृति र सुन्दरता चिनाउने उद्देश्यले पछिल्लो समय संसारभर चर्चित बन्दै गइरहेको अल्ट्रा म्याराथन र जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ ।

जुम्ला सरमुकाम खलंगालाई केन्द्र बनाई एथलेटिक्स मात्रै नभई खेल र पर्यटन जोड्ने गरि कर्णाली स्पोर्टस कल्बले विभिन्न कार्याक्रम आयोजना गर्दै आइरहेको छ ।

सामान्य म्याराथन समथर भुभागमा आयोजना हुन्छ तर अल्ट्रा म्याराथन पहाडको उकालो ओराली भएको क्षेत्रमा आयोजना हुने गरेकोले यसले पर्यटनमा बिशेष महत्व राख्ने क्लबका संरक्षक हरि बहादुर रोकाया बताउँछन् । रोकाया आँफु पनि एक ओलम्पियन तथा अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका खेलाडि हुन।

अल्ट्रा म्याराथनका लागि पहाडका भएका पर्दमार्गहरु निकै उत्कृष्ट हुने गर्छन्। कर्णाली मात्रै नभई समग्र नेपाल अल्ट्रा म्याराथनको ठूलो सम्भावना भएको क्षेत्र पनि हो । विगतमा जुम्ला सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म जाने पदमार्ग रहेको थियो । पछिल्लो समय पहाडी क्षेत्रमा भएको सडक विस्तार यो पदमार्ग पनि क्षति पुगेको छ । अल्ट्रा म्याराथन आयोजना गर्नुको उद्देश्य  सोहि रुटको प्रवर्धन गर्नु पनि भएको आयोजक क्लबले जनाएको छ ।

समुद्री सतहबाट २ हजार ३०० मिटरको उचाईं रहेको जुम्ला सदरमुकामबाट सुरु हुने यो म्याराथन ३ हजार ३०० मिटरको उचाईंमा रहेको डाफेँ लेक हुदैँ फेरि २५०० मिटर उचाईं रहेका न्याउरीघाट क्षेत्र पुग्नेछ । त्यहाँबाट ४ हजार १०० मिटरमा रहेका चुच्चेमारा लेक भएर २ हजार ८९० मिटर उचाईंमा रहेको रारा ताल छेउमा समापन हुन्छ ।

४९ किलोमिटर लामो यो रुटको जस्तो उचाईंमा विविधता संसारका कुनै पनि रुटमा छैन । तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनमा व्यवसायीक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्ष भन्दा माथीका शारिरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्नेछन्। जुम्ला देखि रारा दुई दिनको पदयात्राको रुट भएपनि व्यवसायीक खेलाडीले ५ देखि ७ घण्टा सम्ममा दौड पुरा गर्ने आयोजकले बताएको छ ।  प्रतियोगिता आयोजना गर्न ५० लाख रुपैयाँ सम्म खर्च हुने अनुमान गरिएको छ ।

२०७७ सालमा आयोजना हुनु पर्ने म्याराथन कोरोना महामारीले रोकिएको थियो । अहिले कोरोना महामारीको असर कम हुदैँ गएकाले कल्बले चैत २६ गते आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि रजिष्ट्रेसन खुल्ला गरिएको छ
४९ कि.मी अल्ट्रा दौड महिला/पुरुष तर्फ सहभागी हुन विदेशी धावकका लागि ४ हजार ५०० रुपैयाँ  र नेपाली धावकका लागि १ हजार ६०० रुपैयाँ तोकिएको छ । ५ कि.मी बिध्यार्थी तर्फ  बिद्यालयको सिफारिसमा निशुल्क दर्ता गरिने छ ।

त्यस्तै ५ कि.मी कर्मचारी तथा व्यपारी तर्फ खुल्ला ५०० रुपैयाँ शुल्क तोकिएको आयोजक क्लबले जनाएको छ।  कल्बले खेलाडीलाई खाने बस्ने सबै सुविधा प्रदान गर्नेछ । (आर्थिक अभियान)

Translate »