कलेजबाटै व्यवसायमा जोडिएका ३ युवाः ५ लाख लगानीको व्यवसायले मासिक २ लाख ५० हजारको व्यापार

फागुन २३, काठमाडौं । अहिले नेपाली बजारमा लाखौ रुपैयाँ पर्ने स्मार्ट फोनहरू बोक्नेको संख्या दिनदिनै बढ्दै छ ।

फोन जति महँगो भयो चिन्ता त्यतिनै बढ्दै जान्छ । धुलो पसेर स्क्रिन खराब हुन्छ की ? पानीमा भिजेर मोबाइल नै खराव हुन्छ की ? भन्ने अनेकौ चिन्ता हुन्छन् ।
महँगो फोनलाई धुलो धुवाबाट बचाउने र्‍यापिङको आइडिया सहित ३ जना युवाले शुरू गरेको व्यवसायले अहिले राम्रो बजार लिइरहेको छ ।

इटहरीका प्रशान्त फुयाँल, अभिनव शाह र काठमाडौंका जीवन रिजाल मिलेर मोबाइललाई धुलो धुवाबाट बचाउने ‘र्‍यापसी’ बिजनेशको शुरुवात गरेका हुन् ।

सामान्यतया मोबाइललाई सुरक्षित राख्न विभिन्न किसिमका कभरहरूको प्रयोग गरिन्छ । कभरले बाहिरी भागको सुरक्षा गरेपनि यसलाई धुलोबाट भने जोगाउन सक्दैन ।

मोबाईललाई धुलोबाट जोगाउनुका साथै फुटेको भागलाई र्‍याप गरेर आकर्षक बनाउने उदेश्यले र्‍यापसी नाममा स्टार्टअप बिजनेस शुरू गरेको फुयाँलले बताए ।
‘मोबाइलमा कभर लगाएपछि सम्पूर्णरुपमा सुरक्षित हुन्छ भनेर हामीहरू ढुक्क हुन्छौ । तर हामीलाई के थाहा हुन्न भने कभर भित्र पनि धुलो पसेर मोबाइललाई स्क्र्याच गरिरहेको हुन्छ ।’ उनले अभियानसँग भने, ‘त्यसैले मोबाइलाई एक्स्ट्रा प्रोटेक्सन (अतिरिक्त सुरक्षा) दिने कम्पनी हो र्‍यापसी ।’

अहिले मोबाइल र्‍यापिङको मात्रै काम गरिरहेका उनीहरू निकट भविष्यमा ल्यापटप, क्यामेरा लगायतका इलेक्ट्रोनिक्स सfमानहरू पनि र्‍याप गर्ने योजनामा छन् ।


उनीहरूले यो व्यवसाय शुरू गरेको ३ महीना मात्रै भयो । गत जनवरी १ देखि अधिकारिक रूपमा र्‍यापसीको शुरुवात गरेका थिए । ५ लाख रुपैयाँ भन्दा कम लगानीमा शुरु गरेको र्‍यापसीले शुरुवातमै मासिक २ लाख ५० हजार रुपैयाँ भन्दा धेरैको व्यापार गरेपछि उनीहरूलाई हौसला मिलेको छ ।

अवसर छैन भन्नु नै अवसर
उनिहरु तीनै जना एउटा डिजाइन कम्पनीमा काम गर्थे । नेपालमा पनि डिजाइनिङ्को राम्रो माग छ भन्ने बुझेपछि उनिहरुले र्‍यापसीको शुरुवात गरेका थिए । अहिले मोबाइल र्‍यापिङको मात्रै काम गरिरहेका उनीहरू निकट भविष्यमा ल्यापटप, क्यामेरा लगायतका इलेक्ट्रोनिक्स सfमानहरू पनि र्‍याप गर्ने योजनामा छन् ।

प्रशान्त र अभिनव सानैदेखिको साथी हुन् । सानैदेखि डिजाइन र इडिटिङमा उनीहरूको रुची । प्लस टु सम्म इटहरीमा पढेका उनीहरु आईटीमा ब्याचलर गर्न काठमाडौं आएका थिए । पढाईको सिलसिलामा काठमाडौँ आएका उनिहरुको भेट जीवन रिजाल सँग भयो । अहिले प्रशान्त र जीवन हेराल्ड कलेजमा पढ्दै छन् भने अभिनव चाहिँ कान्तिपुर ईन्जिनियरिङ् कलेजमा पढ्दै छन् ।

तीनै जना एउटै उमेर समूहका साथी हुन् । उनीहरूमा सानैदेखि नेपालमै केही नयाँ बिजनेस गर्नुपर्छ भन्ने हुटहुटी थियो । त्यसैले त २१ वर्ष पुग्दा नपुग्दै उनीहरुले र्‍यापसी स्टार्टअप शुरु गरेका छन् ।
नेपालमा केही गर्नको लागि अवसर नै छैन, रोजगारी पनि छैन भनेर विदेशीनेको जमात रहेपनि आफूहरूले भने यहीं बिजनेस गरेर राम्रो आम्दानी गरिरहरेको प्रशान्तले बताए ।
मोबाइललाई र्‍याप गर्दा फुटेको मोबाइल पनि नयाँ जस्तै देखाउन सकिन्छ । स्क्रिनहरू चर्किएको, टुक्रा टुक्रा भएको ग्लासलाई समेत जोडेर आकर्षक बनाउन सकिने फुयाँलेको भनाई छ ।
‘नेपालमा अवसर छैन भन्नुनै एउटा अवसर हो । नेपाल मा केही छैन भने त्यसलाई यहाँ बनाउन सकिन्छ ।’ फुयाँलले भने ।

७०० रुपैयाँमा अधिकतम सुरक्षा 
मोबाइल र्‍यापीङ गर्न प्रति मोबाइल ७०० रुपैयाँ शुल्क लाग्छ । ७०० रुपैयाँ खर्च गर्दा पानीमा भिजेको अवस्था बाहेक अन्य लगभग सबै भौतिक सुरक्षा दिने उनिहरूको दावी छ ।
मोबाइललाई र्‍याप गर्दा फुटेको मोबाइल पनि नयाँ जस्तै देखाउन सकिन्छ । स्क्रिनहरू चर्किएको, टुक्रा टुक्रा भएको ग्लासलाई समेत जोडेर आकर्षक बनाउन सकिने फुयाँलेको भनाई छ ।
र्‍याप गरेपनि मोबाइलको कभर भने आवश्यक पर्छ । र्‍यापिङ गर्दा मोबाइलको भित्रि सुरक्षा मात्रै हुन्छ ।

कोठाबाटै व्यवसाय, ४ जनालाई रोजगारी 
उनीहरुले अहिले डिजाइनिङको सम्पूर्ण काम आफ्नै कोठाबाट गरिरहेका छन् । आगामी दिनमा छुट्टै कार्यालय खोल्ने र अझै व्यवस्थित ढङ्गबाट चलाउने संञ्चालक फुयाँलले बताए ।

कोठाबाटै व्यवसाय गरेपनि र्‍यापसीमा अहिले नै चार जनालाई रोजगारी दिइएको छ । व्यवसाय बढ्दै जाँदा थप रोजगारीको अवसरहरू सिर्जना हुने उनीहरूको विश्वास छ । (प्रतिक्षा कडेल/आर्थिक अभियान)

Translate »