सुर्खेतमा साढे १२ हजार म्यादी प्रहरी भर्ना गरिँदै

स्थानीय तह निर्वाचन–२०७९

म्यादी प्रहरी । फाइल फोटो ।

स्काई न्यूज /चैत ३, सुर्खेत ।  स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा साढे १२ हजार बढी म्यादी प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ हजार २ सय ६३ जना म्यादी प्रहरी भर्ना गर्न लागेको हो । जिप्रकाले बुधबार म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । म्यादी प्रहरीका लागि योग्यता पुगेको व्यक्तिले यही चैत ६ देखि ११ सम्ममा आवेदन दिन सूचना गरिएको हो ।

इच्छुकले जिल्ला प्रहरी कार्यालयमा आएर दरखास्त फाराम लिन र पेस गर्न सक्ने प्रहरी कार्यालयले जनाएको छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने छन् । सूचना अनुसार सुरक्षा निकायमा २०७८ साउन १ देखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण भइ प्रवेशपत्रको प्रतिलिपि पेस गर्नेहरु पनि समावेश हुन सक्नेछन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत रही निवृत्त वा उपदानप्राप्त पूर्व सुरक्षाकर्मी र पूर्व वनरक्षक, मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिलाई भर्नाको प्राथमिकताक्रममा राखिएको छ ।

आवश्यक न्यूनतम् योग्यताका रुपमा कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनु पर्नेछ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले चैत १५ म्यादी प्रहरीका लागि छनोट सुरु हुने र २२ गते नतिजा सार्वजनिक गर्ने बताए । छानिएका म्यादी प्रहरीलाई चैत २८ मा प्रशिक्षण दिइनेछ ।

निर्वाचन अवधिमा म्यादी प्रहरीले ४० दिन काम गर्नु पर्नेछ । यो अवधिमा सरकारले एक म्यादी प्रहरीलाई प्रहरी जवान सरहको आधारभूत मासिक तलब (२२ हजार ६ सय ८० रुपैयाँ) ४० दिनको ३० हजार २ सय ४० रुपैयाँ, खाद्यान्नका लागि एकमुष्ठ ७ हजार २ सय र पोशाकका लागि ६ हजार रुपैयाँ दिनेछ ।

निर्वाचन हुने ठाउँमा खटिने म्यादी प्रहरीलाई आउने÷जाने खर्च एक हजार रुपैयाँ, बिमा र अन्य सुविधासमेत दिइनेछ । तर, सुर्खेत जस्तो कर्णाली प्रदेशको राजधानीका लागि साढे १२ हजार म्यादी प्रहरी साह्रै कम संख्या तोकिएको सरोकारवालाले बताएका छन् । जनसंख्या, भूगोल र आवश्यकताका आधारमा पनि न्यून जनशक्तिले जिल्लाको शान्ति सुरक्षा कायम गर्दै आएको सुर्खेत प्रहरीलाई जम्मा साढे ५ सय दरबन्दी कायम गरिएको छ ।

सुर्खेतलाई प्रहरीको यो दरबन्दी आज भन्दा २५ वर्ष पहिले तोकिएको थियो । अहिलेपनि प्रदेशको राजधानी भईसक्दा समेत दरबन्दी बढाउने तर्फ सुरक्षा निकायले खासै चाँसो दिएको पाईदैन् । अहिलेपनि सुर्खेत प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम गराउन प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग गुहार माग्नुपर्ने बाध्यता रहेको छ ।

त्यसैमा अहिलेपनि म्यादी प्रहरीको दरबन्दी न्यून संख्यामा कायम गरिएको सुरक्षासँग सरोकार राख्ने सरोकारवालाहरु बताउँछन् । बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनमा सुर्खेतमा २ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यसअघि २ सय ६३ मतदान केन्द्र रहेको सुर्खेतमा २९ वटा मतदान केन्द्र हाल थपिएका हुन् ।

मतदान स्थल भने १ सय ३८ नै कामय राखिएको छ । जिल्लामा सबै भन्दा धेरै मतदान केन्द्र बीरेन्द्रनगरमा ७५ वटा राखिएका छन भने कम चिङगाड गाँउपालिकामा १३ वटा रहेका छन । यस्तै गुर्भाकोटमा ४०, भेरीगंगामा ३८, पञ्चपुरीमा २८ लेकबेशी र चौकुनेमामा २६÷२६ वटा केन्द्र राखिएका छन् । उता सिम्ता र बराहतालमा समान २३÷२३ वटा केन्द्र राखिएको छ । यस्तै स्थानियतहको निर्वाचनमा सुर्खेतबाट २ लाख ४० हजार भन्दा धेरैले मतदानमा भाग लिन पाउने भएका छन ।

Translate »