भेरी–बबई डाइभर्सन आयोजना : लक्ष्य चुम्न तीन सिफ्टमा काम हुँदै

स्काई न्यूज /चैत ५, सुर्खेत । भेरी–बबई डाईभर्सन आयोजनाले निर्माण कार्यलाई तीव्रत्तर गतिले अघि बढाएको छ । नेपालमै पहिलो पटक विशेष प्रविधियुक्त सुरुङ (टीबीएम) टनेल बोरिङ मेशिनको प्रयोग गरिएको आयोजनामा अहिले लक्ष्य चुम्न तीन सिफ्टमा काम धमाधम भईरहेको छ । भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ र विद्युत् उत्पादन गर्ने यस आयोजनाको उद्देश्य छ ।

पहिलो चरणमा उत्साहजनक काम गरेको यस आयोजनाले दोस्रो चरणमा कोभिड महामारी, बन्द हड्ताल जस्ता कारणले केही ढिलाई भएपनि अहिले बाँधस्थलसँगै पावर हाउनिर्माण कार्यलाई तीव्रत्तर पारेको हो । आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता दिएको छ । सिभिलअन्तर्गत हेडवर्क्स, विद्युत् गृह, र सर्ज साफ्टको काम तीन सिफ्टमा भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेण्डर भएर अब छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनसाथै सर्ज साफ्ट निर्माणसँगै पाईलिङ्ग कार्यलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘तोकिएकै समय अघि जतिसक्दो छिटो सक्न रातदिन नरोकी तीन सिफ्टमा निर्माण कार्य अघि बढाईरहेका छौं ।’

उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ४५ तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत हासिल भएको छ ।

सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये करिब ५६ रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० मा सक्ने कार्यादेश पाएको छ । आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । हालसम्म समष्टिगतरुपमा अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाईभर्सनको प्रगति उत्साहजनक देखिन्छ ।

संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । सरकारले आन्तरिक स्रोतबाट विद्युत र सिंचाई पु¥याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सात वटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।

Translate »