यात्रु छाडेर तारा एयर जुम्ला उडेपछि……

बैशाख २८, जुम्ला । तारा एयरलाइन्सको जहाज बाँकेको नेपालगन्जमै यात्रु छोडेर उडेपछि जुम्लामा चर्को विरोध भएको छ । जुम्लाको लागि उडान भर्दै आएको तारा एयरलाइन्सका कर्मचारीको लापरबाहीले नेपालगन्जमै यात्रु अलपत्र परे ।

गोविन्द महत सहितका ३ जना यात्रुलाई नेपलागन्जमै छाडेर जहाज उडेको थियो । नेपालगन्जमै छुटेका यात्रु गोविन्दले यात्रुप्रति एयरलाइन्सका कर्मचारी गैरजिम्मेवार देखिएको प्रतिक्रया दिए । उनी यही ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खलंगाको चन्दननाथ माविमा रहेको मतदान केन्द्रको पर्यवेक्षण गर्न जुम्ला आउँदै थिए । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानको तर्फबाट पर्यवक्षण गर्ने गरी जुम्ला आउन लागेका महतले यात्रुप्रति जहाज कम्पनीको व्यवहार निकै अभद्र रहेको बताए । उनले दिउँसो १ बजेको लागि तारा एयरलाइन्सका टिकट लिएका थिए ।

‘म काठमाडौंदेखि नेपालगन्ज नौ बजे नै पुगेको थिएँ । झर्नेवित्तिकै तारा एयरलाइन्सको जुम्ला काउन्टरमा पुगेँ । जहाज जाने समयका बारेमा सोधी खोजी गरेँ । कर्मचारीले १ बजेमात्र उडान हुने जानकारी दिए,’ यात्रु महतले भने,‘म खान खानको लागि कर्मचारीसँग सोधेर बाहिर निस्किए । खाना खाएर विमानस्थलभित्र नपुग्दै जहाज उडेछ ।’

उनको झोलामा ट्याग लगाइसकेको थियो । ‘काउन्टरमै थियो झोला । काउन्टरमा रहेका कर्मचारीले जहाज मौसम खराबीका कारण ढिलो भनेका थिए । यद्यपि जहाज छिटो उड्ने अवस्था आए खबर गर्नु होला भनेर फोन नम्बर दिएर बाहिर गए । तर कुनै रेस्पोन्स नै भएन,’ उनले भने ।

महत ११ बजेर ५० मिनेटमा विमानस्थलमा पुगिसकेका थिए । सिंधै काउन्टरमा पुगेर सोधेका उनले जहाज उडिसकेको जानकारी पाए । महतले भने,‘मलाई कल गर्नु भएन । केही समयअघि मौसम खराबी हुने भएकोले ढिलो उड्ने भन्नुभयो । सिमिकोट क्यान्सिल भएर जुम्ला उड्यो भन्नुहुन्छ ? ’

गोविन्दले गरेको गुनासोको वास्ता नभएपछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् । गोविन्द बाहेकका दुई जनालाई रकम फिर्ता गरेर फकाईयो । तर गोविन्दले मानेन । ‘मैले रकम फिर्ता गर्न मानिनँ । जसरी पनि व्यवस्थापन गर्नु पर्ने अडान राखेँ । कर्मचारीले कुनै वास्ता नगरेपछि आवश्यक जाँचबुझ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।’

निवेदनमा उनले भनेका छन्,‘निर्वाचन पर्यवेक्षकको सिलसिलामा जुम्ला जाँदैछु । १ बजे ताराको उडानमार्फत जुम्ला जानु थियो । तर एयरलाइन्सको लापरबाहीका कारण समयभन्दा छिटो र कुनै खबर नगरी मलाई छाडेकोले आवश्यक जाँचबुझ गरी कारबाहीको माग गर्दछु ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले आवश्यक कारबाहीका लागि नेपालगन्ज नागरिक उड्ययन प्राधिकरणलाई पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पत्रसँगै निवेदक महतले संकलन गरेका सबै प्रमाण पठाइएको जानकारी दिए ।

‘मलाई जसरी पनि जानु छ । व्यवस्थापन गर्नुस् भनेको थिएँ । एयरलाइन्सको मनपरीले नेपालगन्जमै अलपत्र परियो । एयरलाइन्सको छाप छ । ८ हजार ५ सय रुपैयाँको टिकट काटेको छु,’ उनले भने,’‘कर्णालीमा जहाज कम्पनीले गर्ने यात्रुमाथि निकै दुर्व्यवहार गर्ने गरेको देखिन्छ । यो मनपरी र दादागिरी हो ।’ कर्णालीमा तारा, सीता र समिट एयरले उडान भर्दै आएका छन् ।

नेपालगन्ज यति एयरलाइन्सका स्टेसन म्यानेजर दिलीप कार्कीले मौसमका कारण जहाज केही चाँडो उडाइएको स्वीकार गरे । गोविन्दबहादुर महत भने बोर्डिङ गरेर बाहिर गएकाले छुटेका उनको भनाइ छ । ई–कान्तिपुर

Translate »