कोहलपुरको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालन आउँदै

जेठ ५, बाँके । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।

दशैंअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ ।

लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताए । उनले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गरे ।

कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो ।

उनका अनुसार, २०७७ फागुन २४ गते रू. २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम शुरु भएको हो । बसपार्क निर्माणको लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ ।

५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।

निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताए । उनका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ ।

पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताए । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवम् आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताए । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उनको भनाइ छ । रासस

Translate »