प्रशासनद्वारा पेट्रोल पम्पको अनुगमन

मूल्यबृद्धि भएपनि आपूर्तिलाई सहज बनाईएकाले सुर्खेतमा इन्धनको अभाव छैन् । निराधार इन्धन अभाव भएको हल्लाको पछाडी नलाग्न प्रशासनको आग्रह

स्काई न्यूज/ जेठ ९, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजारमा कृत्रिम अभाव भएको गुनासो आएपछि सदरमुकाम वीरेन्द्रनगरका आठ वटा पेट्रोलपम्पको अनुगमन गरेको छ । गुनासोपछि प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले सोमबार आठ वटा पेट्रोलपम्पका सञ्चालकलाई उपभोक्ताको मागलाई ध्यानमा राख्दै आपूर्ति तथा वितरण प्रक्रियालाई सहज बनाउन निर्देशन दिएको हो ।

अनुगमनका क्रममा आठ वटा मध्ये पाँच वटा पेट्रोलपम्पमा सामान्य भन्दा अपेक्षाकृत माग बढी आएर समयभन्दा पहिले ने सकिएको र बाँकी ३ वटा पेट्रोलपम्पले नियमित इन्धन वितरण गरिरहेको पाईएको थियो । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थापाले बजारमा इन्धनको कृत्रिम अभाव भएको भन्ने हल्ला अनुगमनबाट निराधार रहेको पाईएको बताए । उनले वीचमा दुई दिन सार्वजनिक विदा परेकाले नियमित आउनुपर्ने इ्रन्धनको आपूर्ति रोकिएले केही पेट्रोलपम्पहरुमा रहेको इन्धन पहिले नै सकिएकाले अभाव भएको हल्ला आएको जिकिर गरे ।

उनका अनुसार नेपाल आयल निगमले माग अनुसारको आपूर्ति व्यवस्थालाई सहज बनाएर उपभोक्तालाई चाहिएजति इन्धन वितरण सुचारु भएको छ । यता नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रतिनिधि हस्त भारतीले कर्णाली प्रदेशमै ईन्धन भण्डारण स्थल नहुँदा नेपागञ्जबाट नियमित आपूर्ति नभएपछि विभिन्न समस्याहरु उत्पन्न हुने गरेको बताए ।

उनले शनिबार र आईतबार सार्वजनिक विदा परकोले दुई दिन सुर्खेतमा इन्धनको नियमित आपूर्ति नहुँदा वीरेन्द्रनगरका केही पेट्रोलपम्पमा रहेको इन्धन सकिएकाले जिल्लाभरी सकिएको गलत हल्ला फैलाईएको जनाए । उनका अनुसार सोमबार दिउँसो २ बजेपछि जिल्लाका सबै पेट्रोलपम्पहरुमा पर्याप्त मात्रामा ईन्धन आपूर्ति गरेर सहज वितरण गरिएको छ । सरकारले इन्धनको मूल्यबृद्धि गरेपनि जिल्लाहरुमा आपूर्तिको कुनैपनि समस्या नरहेको उनको भनाइ छ । अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश प्रतिनिधि, पत्रकार, प्रहरी, नेपाल आयल निगम र प्रशासनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Translate »