हवाई भाडा बढ्यो

जेठ १०, काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ ।

नयाँ भाडादरमा ९० देखि ४४५ रुपैयाँसम्म वृद्धि भएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको भाडा तीन हजार ७२५ कायम भएको छ भने काठमाडौं–धनगढी १५ हजार ६६५ रुपैयाँ कायम भएको छ । काठमाडौं–भद्रपुर ११ हजार ९३५, काठमाडौं–विराटनगर नौ हजार ३२५, काठमाडौं–जनकपुर पाँच हजार २५०, काठमाडौं–भरतपुर चार हजार ४३५ र काठमाडौं–पोखरा छ हजार ३०५ कायम भएको छ ।

काठमाडौं–भैरहवा सात हजार ८८०, काठमाडौं–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं–तुम्लिङटार सात हजार ४६० कायम भएको छ । माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रुपैयाँ कायम भएको संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १६६ रुपैयाँ छ ।

Translate »