सरकारको नीति तथा कार्यक्रम : सुर्खेतको रामघाटमा विमानस्थल निर्माण गरिने
स्काई न्यूज/ जेठ ११, सुर्खेत । सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा चलेको झण्डै अढाई दशक बित्यो । वषौंको प्रयासपछि २०७३ साल कात्तिकमा भेरीगंगा नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पनि सुरु भयो । काठमाडौंस्थित टिएइसी कन्सल्ट्यान्ट, इन्जिनियरिङ एण्ड एजुकेशनल सर्भिसेज र एनोट एण्ड आर्किटेक्टले विमानस्थल निर्माणका लागि भौगर्भिक तथा सम्भाव्यता अध्ययन ग¥यो । समितिको प्रतिवेदनका आधारमा २०७५ जेठमा तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी विमानस्थलको स्थलगत अध्ययन गर्न सुर्खेत आए ।
कर्णालीको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउँदै उनले यहाँका राजनीतिक दल र सरोकारवालासँग छलफल पनि गरे । छलफलपछि कम्तीमा एकसय सिटे जहाज उडान तथा अवतरण गर्न सकिने गरी विमानस्थल बनाउने प्रतिबद्धतासमेत जनाए । मन्त्रीको सक्रियता र प्रतिबद्धतापछि सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा स्थानीय ढुक्क थिए । तर मन्त्रीको दुःखद निधनपछि विमानस्थल बनाउने सपना पनि तुहिएको थियो ।
त्यसपछि भेरीगंगा नगरपालिका–१०, मदानेचौरमा विमानस्थल बनाउने योजना पनि असफल भयो । सम्भाव्यता अध्ययन टोलिले अन्तिम समयमा आएर मदानेचौरमा विमानस्थल बनाउन नसकिने निष्कर्णसँगै सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सपना सदाका लागि अन्त्य भएको थियो । सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सपना अन्त्य भएपछि प्रादेशिक विमानस्थल बनाउने योजना अघि सारियो । त्यो पनि भेरीगंगा नगरपालिका १० र ११ को सिमानामा पर्ने पाण्डोलमा निर्माण गर्ने भनियो ।
प्रादेशिक विमानस्थल बनाउने भनिएपनि सरकार परिवर्तनसँगै त्यो प्रस्ताव समेत हरायो । त्यसपछि फेरी पुरानै सुर्खेत विमानस्थलको धावन मार्गलाई १ हजार ६ सय मिटर विस्तार गरिने योजना ल्याईयो । तर, स्थानीय बासिन्दाले विमानस्थल विस्तारका लागि उचित मुआव्जासहित विकल्प दिनुपर्ने माग राखेपछि त्यो पनि अुँधुरो रह्यो । हाल सुर्खेत विमानस्थलको धावनमार्ग १ हजार २ सय ५५ मिटरको दूरी रहेको छ । सरकारको ढुलमुले नीतिका कारणले साँघुरो सुर्खेत विमानस्थलमा ठूला जहाज अवतरण गर्न सकेका छैनन् । अहिले यहाँका सर्वसाधारण महँगो भाडादर तिर्न बाध्य छन् ।
अधिकांश नागरिकहरु सुर्खेतको हवाई भाडा महङ्गो भएका कारण नेपालगञ्जबाट उडान भर्ने गर्दछन् । सुर्खेत विमानस्थलको विकल्पमा मदानेचौरमा विमानस्थल निर्माण गर्ने योजना अघि सारिए पनि तत्काल उक्त आयोजना निर्माण नहुँदा यही विमानस्थल बिस्तार गर्नुपर्ने सुर्खेतका पर्यटन तथा होटल व्यवसायीहरुको माग छ । विमानस्थल विस्तारका लागि सुर्खेत उद्योग वाणिज्य संघले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारले नसुनेको संघका अध्यक्ष लक्ष्मण कँडेल बताउँछन् ।
तर, नेपाल सरकारले मंगलबार फेरी भेरीगंगाकै रामाघाटमा विमानस्थल निर्माण गर्ने घोषणा गरेसँगै सुर्खेती जनमानसका धारणहरु पक्ष विपक्षमा आउन थालेका छन् । सरकारले आफ्नो नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि पहल थालिने बताएपछि स्ुर्खेती बजारमा सरगर्मी शुरु भएको हो । रामघाटमा विमानस्थल निर्माण सङ्घीय सरकारको नयाँ कार्यक्रम हो । अघिल्ला सरकारका नीति तथा कार्यक्रममा भेरीगङ्गाकै मदानेचौरमा नयाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थल स्तरोन्नतिका कार्यक्रम समावेश गरिएका थिए तर वर्तमान सरकारले यी दुई स्थानको साटो रामघाटमा विमानस्थल निर्माणको तयारी गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्,‘ ‘सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ विमानस्थल निर्माण काम शुरु गरिनेछ ।’ यसअघि सरकारले रामघाटमा विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा सुर्खेत विमानस्थलको विस्तार गर्नुको साटो नयाँ विमानस्थल बनाउने नाममा आमनागरिकलाई सास्ती दिन नहुने नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही बताउँछन् । उनले भने, ‘नीजि क्षेत्र नयाँ विमानस्थल नबनाउने भन्ने पक्षमा छँदैछैन्, बन्नु पर्छ ।
तर, हाल बनेको विमानस्थलको विस्तारको कामलाई अधुरै छोडेर नयाँ बनाउँनु पर्छ भन्नु गलत हो ।’ सरकारले नै सुर्खेत विमानस्थललाई १ हजार ६ मिटर बनाएर दुई वर्ष भित्रै मध्यम ठूला जहाज सञ्चालनमा ल्याउने घोषणालाई हावादारी नबनाउन समेत उनले सुझाव दिए । यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले समेत सुर्खेत विमानस्थलको विस्तार कार्य अगाडि नबढाईए सरकार विरुद्ध नागरिक स्तरबाटै चरणवद्ध आन्दोलनका कार्यक्रम ल्याइने बताए ।
यता पूर्वी सुर्खेतका नागरिक भने रामघाटमा विमानस्थल बन्ने खबरले खासै उत्साहित नभएको भेरीगंगाका स्थानीय यामप्रसाद कँडेलले जनाए । विगत १०÷१२ वर्ष देखि भेरीगंगामा नयाँ विमानस्थल बनाउने घोषणा हुने तर, कहिल्यै नबन्ने गरेकाले सरकारको घोषणा नै हावादारी लाग्ने गरेको उनको भनाइ छ । यसैवीच सरकारले प्रदेश राजधानी सुर्खेतको रामघाटमा विमानस्थल निर्माणदेखि हिमाली जिल्ला हुम्लालाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय नीति तथा कार्यक्रममा समेटेको छ ।
मंगलबार संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली करिडोरका बाँकी रहेका ट्रयाक खोलेर हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने बताईन् । सवारी चालक अनुमतिपत्र प्रदेशबाटै सरल रुपमा शीघ्र वितरण गर्ने, कर्णाली बृहत् जलाधार क्षेत्रलगायतका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन, सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।
त्यस्तै, विपन्न बालकालिकाहरुका लागि कर्णालीमा आवासीय विद्यालय सञ्चालन गर्ने, कक्षा ९ देखि स्नातक तहसम्मको पाठ्यक्रम परिमार्जन गर्दै पढ्दै कमाउँदै कार्यक्रम विस्तार, प्रत्येक विद्यालयमा खेलकुद क्लव स्थापना गर्ने र प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गरिने जस्ता योजना अगाडी सारिएका छन् । उक्त नीति तथा कार्यक्रममा सुर्खेतमा बन्दै गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स तथा पावर हाउस निर्माणलाई तीव्रता दिइने बताईएको छ ।
यस्तै, कर्णालीका हिमाली तथा पहाडी जिल्लामा लिफ्ट सिँचाई सुविधा विस्तार, सरकारी, सार्वजनिक, सामुदायिक र गुठी जग्गाको विद्युतीय लगत तयार गर्ने तथा मालपोत र नापी सम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै अनलाइन प्राप्तिको व्यवस्था गर्न सक्ने व्यवस्था मिलाइने जस्ता योजना नीति तथा कार्यक्रममा समावेश गरिएका छन् । आज मिति २०७९ जेठ ११ गते स्काई न्यूज दैनिकमा प्रकासित समाचार