सुत्केरी भत्ता अनलाईन मार्फत दिन कर्णालीका सञ्चयकर्ताको आग्रह

स्काई न्यूज/ जेठ १७, सुर्खेत ।  राष्ट्रसेवक कर्मचारीले सुत्केरी भत्ता वापतको सहुलियत रकम अनलाईन मार्फत बैंक खातामा जम्मा गरि दिन माग गरेका छन् । कर्मचारी सञ्चय कोषले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सञ्चयकर्ता अभिमुखिकरण कार्यक्रमका सहभागिले कर्णाली जस्तो भौगोलिक विविधताले भरिपूर्ण प्रदेशका राष्ट्रसेवक कर्मचारीले पाउने सुत्केरी भत्ता वापतको सहुलियत रकम अनलाईन मार्फत बैंक खातामा जम्मा गरि दिन माग गरेका हुन् ।

उनीहरुका अनुसार कोषले सुत्केरी भत्ता वापत उपलब्ध गराउने ७ हजार पाँच सय रुपैयाँ लिनका लागि १४ हजार खर्च गर्नुपर्ने बाध्यता रहेकाले अनलाईन मार्फत बैंक खातामा जम्मा गरिँदा उपयुक्त हुने छ ।

संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहका लेखाअधिकृत एवं लेखा सम्बद्ध व्यक्तिहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा कर्मचारी सञ्चय कोष सञ्चयकर्ता सेवा प्रर्वद्धन महाशाखा प्रमुख दिलिपराज पौडेलले कर्मचारी सञ्चय कोषले प्रवाह गरेका सेवाहरु र त्यसका प्रक्रियाका बारेमा जानकारी दिएका थिए । उनले केवाईसी विवरण अध्यावधिक गर्ने र भर्ने सम्बन्धमा जानकारी दिनुका साथै कोषद्वारा उपलब्ध अनलाईन सापटी कार्यक्रम अन्तर्गत विशेष सापटी सेवा शुरु भएको बताए ।

उनका अनुसार कोषद्वारा घर निर्माण सापटी, जग्गा खरिद सापटी, घर मर्मत सापटी एवं शैक्षिक सापटीसँगै औषधोउपचार खर्च, सुत्केरी स्याहा खर्च, काजक्रिया अनुदानलगायतका सेवा उपलब्ध गराई रहेको छ । यता कर्मचारी सञ्चय कोषका सुर्खेत शाखा प्रमुख रामप्रसाद लामिछानेले कर्णालीका ५० हजार सञ्चय कर्तालाई नीति नियम र कानूनको परिधिमा रहेर अधिकतम् सेवा सुविधा प्रवाह गर्न कोष तयार रहेको बताए ।

उनले जागिरे जीवनमा घर बनाउन नसकेका कर्मचारीका लागि तुलनात्कमरुपले सस्तो व्याजदरको कोषको आवास कर्जा कार्यक्रमको लाभ लिन आग्रह गरे । उनका अनुसार घर बनाएका सञ्चयकर्ताका लागि घर मर्मतदेखि जग्गा खरिद सापटी समेत सुर्खेत शाखाबाट उपलब्ध गराईएको छ ।

कार्यक्रममा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बम, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख गोपीचन्द्र भण्डारीले समेत कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताका लागि ल्याईएका उत्पादनहरुको लाभ लिएर फाईदा उठाउन आग्रह गरे ।

उनीहरुले कर्मचारी सञ्चय कोष नेपाल सरकारको प्रत्यक्ष निगरानीमा रहेको संस्था भएकाले आपत विपद् परेका बेला चाहिने आफ्नै वचत रकमको अधिकतम् सही उपयोग गर्ने बारेमा जानकारी राख्न समेत आग्रह गरे । अभिमुखिकरण कार्यक्रममा प्रदेश भरी रहेका लेखा अन्तर्गतका करिब एक सय बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Translate »