यार्सा सङ्कलन गर्न भीड

जेठ १८, जुम्ला । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भिडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ ।

गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिए । यार्सागुम्बा सङ्लनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन् । आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताए । १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा सङ्कलन गर्न गएका छन् ।

खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपार्जनको स्रोत नै जडीबुटी हो । घर खर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा सङ्कलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन् । पाटनमा यार्सा सङ्कलन निकै कठिन हुने गरेको छ । सङ्घीय सरकार, प्रदेश सरकारदेखि स्थानीय सरकारले गाउँमै आत्मनिर्भरका कार्यक्रम ल्याउन नसक्दा यो समस्या खडा भएको तिला गाउँपालिका स्थानीयवासी काली नेपालीले बताए । (रासस)

Translate »