सुर्खेतमा खाद्य स्वच्छता दिवस मनाईदै
स्काई न्यूज /जेठ १८, सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले विश्व खाद्य स्वच्छता दिवस विविध कार्यक्रम गरि मनाई रहेको छ । दिवसको अवसर पारेर कार्यालयले ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित बुधबार कार्यालय परिसरमा सरसफाईसँगै विभिन्न स्थानमा सचेतनामूलक व्यानर टाँस गरेको हो ।
निमित्त सचिव राजु भुजको रोहवरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको रोहवरमा जिल्ला प्रशासन कार्यालयमा र मेयर मोहनमाया ढकाल र उपमेयर निलकण्ठ खनालको उपस्थितिमा वीरेन्द्रनगर नगरपालिकाको हाताभित्र दिवससँग सम्बन्धि सचेतनामूलक व्यानर टाँस गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।
उनले सात दिनसम्म मनाईने खाद्य स्वच्छता दिवस अवधिभर विद्यालय खाद्य पोषण स्वच्छता सम्बन्धि जनचेतना, सूचना संदेश, सचेतना पर्चा पम्पलेट वितरण, होटल रेष्टुरेण्ट अनुगमन निरीक्षण, स्ट्रिट फुड स्वच्छता, खाद्य स्वच्छता सम्बन्धि अन्तरक्रिया, ¥यालीलगायतका कार्यक्रम रहेको जनाए ।
‘संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हकको सुनिश्चितता गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै स्वच्छ तथा पौष्टिक खाद्य वस्तुहरु उपभोगका लागि प्रेरित गर्न जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा दिवस मनाउँदछौं’ उनले भने, ‘दिवसकै अवसरमा खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरु, सरकारी निकाय, गैर सरकारी सघसंस्था, शिक्षण सघसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धी संघसस्थाहरु लगायतको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२२ का दिन बिहान प्रभातफेरि कार्यक्रम गरिने छ ।’
उनले उपभोक्ताको खानपान तथा आनीबानीमा सुधार, सुरक्षित खाद्य वस्तुको उपभोग र खाद्य सुरक्षाका निम्ति विश्व खाद्य स्वच्छता दिवसको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार दिवसकै अवसर पारेर खाद्य श्रृंखलामा, खाद्य स्वच्छता ल्याउन अभियान नै चलाइने छ । खाद्य पदार्थमा स्वच्छता अपनाउन हामी सबैले प्रतिवद्ध भएर आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गरेपछि मात्र विश्व खाद्य स्वच्छता दिवसको नारा स्वच्छ सन्तुलित आहार स्वस्थ्य जीवनको आधारलाई साकार पार्न सकिने उनको भनाइ छ ।