४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको इआइए अन्तिम चरणमा

जेठ २६, काठमाडौं । अर्ध जलाशययुक्त फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ ।

विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको हो ।

सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्टलगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत् आयोजनाका प्रमुख हीरामान वाइबाले बताए । उनले भने, ‘अब लगानीको मोडालिटी टुंग्याउन पाए निर्माणको काममै जान सक्छौँ ।’

आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको आयोजनाका प्रमुख वाइवाले बताए । ‘आउँदो असार महीनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको छ’, उनले भने, ‘आयोजनाले विद्युत् खरीदविक्री सम्झौता (पीपीए)का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ ।’

फुकोट–कर्णाली जलविद्युत् आयोजनाबाट कालीकोटको पचाल झरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगर प्रभावित क्षेत्र हुनेछन् । यस आयोजनाको मुख्य बाँध सान्नी त्रिवेणी गाउँपालिका–३ मा हुने जानकारी दिइएको छ । रासस

Translate »