अस्पतालको बेडमै पुगेर नागरिकता प्रदान

स्काई न्यूज/ जेठ २९, सुर्खेत ।  रुखबाट खसेर अमृता चेपाङ्गको मेरुदण्ड भाँचियो । त्यसयता उनको तल्लो शरिर चल्दैन् । दिसा–पिसाव गर्नका लागि पनि उनलाई सहारा चाहिन्छ । घरको आर्थिक अवस्था कमजोर छ । विपन्न परिवारकी अमृतासँग उपचारका लागि पर्याप्त रकम नहुँदा प्रदेश अस्पताल कालागाउँको अर्थोपेडिक वार्डको ३७ नम्वर वेडमा जीवन संघर्ष गरिरहेकी छिन् । उनलाई अहिले नियमित थेरापी र औषधि सेवन गर्न हम्मे–हम्मे परिरहेको थियो ।

त्यसैमा नागरिकता नहुँदा उनी सरकारबाट पाउने सुविधाबाट बञ्चित थिइन् । मेरुदण्ड भाँचिएकी अमृतालाई प्रशासन कार्यालयसम्म आउन सक्ने अवस्थामा थिइनन् । तर केही नागरिक अगुवाले सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई अमृताको समस्या सुनाएपछि प्रजिअको निर्देशनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले अस्पतालको बेडमै पुगेर अमृतालाई नागरिता प्रदान गरेका हुन् ।

‘नागरिकता सबै प्रकारका सुविधा पाउने प्रवेश विन्दू हो,’ शुक्रबार अमृतालाई ओछ्यानमै नागरिकता दिन पुगेका प्रशासकीय अधिकृत थापाले भने, ‘प्रशासन जनताप्रति जिम्मेवार छ, अपाङ्गतालगायतका कारणले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने नीति लिएका छौं ।’ गोरखा जन्म घर भएकी अमृता गुर्भाकोट नगरपालिका–५, का शंकर पुनसँग विवाह गरेर सुर्खेत आएकी हुन् ।

आर्थिक अभावका कारण औषधि सेवन गर्न र थेरापी गर्न पनि सकस भइरहेका बेला प्रशासनको पहलले सहयोग पुग्ने अमृताले अपेक्षा राखेकी छिन् । नागरिकता पाएपछि भने केही सहज हुने उनले बताईन् । ‘प्रशासनको सरहरुले अस्पतालको बेडमै आएर नागरिकता दिनुभयो, अव अपाङ्तगा परिचयपत्र बनाएपछि औषधिमा लाग्ने केही खर्च जुट्ला,’ उनका पति शंकर पुनले भने, ‘अपाङ्गता परिचयपत्रले औषधि गर्दा पनि केही छुट हुन्छ भन्ने सुनेको छु ।’ उनले आर्थिक अभावकै कारण उपचारसँगै खानबस्नको धेरै समस्या भईरहेको बताए ।

Translate »