कर्णालीमा सधै इन्धनको अभाव : इन्धन भण्डारण गृह निर्माण अलपत्र

स्काई न्यूज/ जेठ ३०, सुर्खेत ।  कर्णालीमा इन्धन भण्डारण नहुँदा प्रायजसो पेट्रोल, डिजेलको अभाव हुँदै आएको छ । भण्डारण नहुँदा लुम्विनी प्रदेशको नेपालगञ्ज डिपोबाट ट्याङकर मार्फत सिधै (विक्री स्थल) पेट्रोलपम्ममा इन्धन डाइभर्ट गर्नुपर्ने बाध्यताले समस्या हुँदै आएको हो । आपतकालीन अवस्थामा समेत अर्को प्रदेशको डिपोबाट इन्धन लिनुपर्ने बाध्यता अहिलेपनि कायमै रहेको छ । हाल सात प्रदेशमध्ये कर्णाली प्रदेशमा भण्डारण गृह (डिपो) छैन । सरकारले संघीय संरचना अनुसार सातै प्रदेशमा इन्धन भन्डारण क्षमता विस्तार गर्ने योजना ल्याएपनि त्यो कर्णालीमा लागु हुन सकेको छैन् ।

नेपाल आयल निगमले बजेट अभावका कारण कर्णलीमा इन्धन भण्डारण क्षमता विस्तार योजना अधुरो भएको बताएको छ । निगमका सुर्खेत स्थित प्रादेशिक कार्यालयका प्रमुख राजकुमार केसीले कर्णालीमा इन्धन भण्डारण गृह निर्माणका कार्यका लागि बजेट अभाव भएपछि काम रोकियो जनाए । उनले प्रदेशमा खपत हुने इन्धनको उपलब्धता र वितरणको व्यवस्था मिलाउन डिपो निर्माण गरी क्षमता विस्तार गर्न लागिएको भएपनि हाल बजेट अभावले अघि बढ्न नसकेको बताए । उनका अनुसार रकम अभावले सुर्खेतमा निर्णाण गरिने भनिएको इन्धन भण्डारण गृह निर्माण कार्य अहिले अलपत्र परेको छ ।

कर्णालीमा पेट्रोल, डिजेलको भण्डारण नहुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । ईन्धनको भण्डारण नहुँदा उपभोक्ता लिटरमा १०÷१५ रुपैयाँ बढी तिर्न बाध्य छन् । कालीकोटमा मस्तमाण्डु पेट्रोल पम्प सञ्चालन गरिररहेका हस्तबहादुर बमले नेपालगन्जबाट पेट्रोलियम पदार्थ लगेर बिक्री गर्छन् । कर्णाली प्रदेशमा नेपाल आयल निगमको इन्धन भण्डार नहुँदा उनले निगमको नेपालगन्ज डिपोबाट डिजेल, पेट्रोल ढुवानी गर्दे आईरहेका छन् । अढाई सय किलोमिटर टाढाबाट इन्धन ढुवानी गर्नु पर्दा व्यवसायीलाई झन्झट छ भने उपभोक्तालाई महँगोमा पेट्रोलियम पदार्थ किन्नुपर्ने बाध्यता छ । ‘ढुवानी खर्च धेरै लागेकाले महँगो भएको हो,’ बमले भने, ‘कर्णालीमा इन्धन भण्डार नहुँदा अर्को प्रदेशबाट ढुवानी गरेर ल्याईएको इन्धन महँगो हुन पुगेको हो ।’ कालीकोटको जस्तो समस्या कर्णाली प्रदेशका अन्य जिल्लामा पनि छ ।

निगमले मुलुकका अन्य प्रदेशमा इन्धन भण्डार बनाए पनि कर्णालीमा नबनाउँदा यस क्षेत्रका व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । उपभोक्ताले लामो समयदेखि कर्णालीमा इन्धन भण्डार राख्न माग गर्दै आएको भएपनि सुनुवाई हुन सकेको छैन् । निगमको प्रादेशिक कार्यालय सुर्खेतमा भएपनि भण्डारण स्थल सहितको डिपो नहुँदा समस्या छ । सुर्खेत डिपोले ट्यांकर ल्याएर सिधै डाइभर्ट गरेर पम्प सञ्चालकलाई दिएपनि कपितयले नेपालगन्जबाट किन्ने गरेका छन् ।

विकासमा पछि परेको कर्णालीमा सडक निर्माण भएसँगै सवारी साधनको चाप र इन्धनको माग दिनप्रतिदिन बढ्दोक्रममा रहेको छ । कुनै प्राकृतिक प्रकोप, तथा अन्य कारणले ढुवानीमा समस्या आउने वित्तिकै भण्डारण अभावमा ठूलो समस्या व्यर्होनु पर्ने अवस्था रहेको निगमका सुर्खेत स्थित कार्यालय प्रमुख केसीले बताए । ‘नेपालगन्जबाट एक दिन ढुवानी नहुँदासाथ यस क्षेत्रमा इन्धन अभाव हुन्छ,’ उनले भने, ‘मौज्दात राख्ने भण्डारण स्थलको आवश्यकता छ ।’ उनका अनुसार सुर्खेतमा मट्टीतेल ४५ हजार लिटर, हवाई इन्धन ६० हजार लिटरको भण्डारण क्षमता रहेपनि धेरै खपत हुने डिजेल र पेट्रोलको भण्डारण स्थल छैन ।

कर्णालीमा पेट्रोल दैनिक ५० हजार र डिजेल सवा लाख लिटर खपत हुने गरेको छ । तर, उनले भण्डारणस्थल नभएकै कारण उपभोक्ताले चर्को मूल्यमा इन्धन खरिद गर्नु परिरहेको भन्ने आरोप गलत भएको बताए । उनका अनुसार भण्डारण स्थल नेपालगञ्ज भएपनि १५ किलोमिटरसम्म आयल निगमले तोकेको दरमा डिपोले इन्धन विक्री गर्नुपर्छ, त्यसमा अनुदान निहित हुन्छ । उनले १६ किलोमिटर भन्दा टाढाको हकमा भने इन्धन विक्रेताले ढुवानी भाडामा ईन्सुरेन्स जोडेर इन्धन विक्री गर्न पाउने व्यवस्था रहेको जनाए । कुनैपनि इन्धनको मूल्य स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र तोक्न विक्रेतालाई आयल निगमले निर्देशन दिएको उनको भनाइ छ ।

‘सुर्खेतमा डिजेल र पेट्रोलको भण्डारण स्थल नभएपनि १५ किलोमिटर भन्दा बाहिरको हकमा ढुवानी भाडामा इन्सुरेन्स समेत जोडेर इन्धनको मूल्य निर्धारण हुन्छ,’ उनले भने, ‘त्यसैले कर्णालीमा भण्डारणको अभावले उपभोक्ता चर्को मूल्यमा इन्धन खरिद गर्न बाध्य छन भन्नु निराधार हो ।’ उनले स्थानीय प्रशासनसँग समन्वय नगरि आफुखुशी मूल्य निधारण गरि विक्री वितरण गर्ने विक्रेता लाईसेन्स खारेजसँगै कालोबजारीमा कारवाही हुने जानकारी दिए ।

सुर्खेतमा पेट्रोलको हाहाकार
सुर्खेतमा पछिल्लो समय पेट्रोलको चरम हाहाकार भएको छ । भारतीय नाकाबाट पेट्रोल नआउँदा चार दिनदेखि पेट्रोलको हाहाकार हुन थालेको हो । भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको थियो । पेट्रोल पम्पहरुमा सोमबार तेल झन थालेपछि तेल लिने सवारी साधनको भिड लागेको थियो । मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले बताएको छ । सोमबार वीरेन्द्रनगरका दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा चार दिनपछि ४ हजार लिटर पेट्रोल झरेको थियो ।

आर्थिक संकटमा निगम
हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उछाल आएपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको छ । एकसाता नवित्दै पेट्रोलियमको मूल्यवृद्धि गरेको नेपाल आयल निगम यतिबेला आर्थिक संकटमा परेको छ । इन्डियन आयल कर्पोरेसनसँग महँगोमा पेट्रोलियम खरिद गर्नुपरेकोले निगमले घाटा व्यहोर्नुपरेको बताउँदै आएको छ । निगमको घाटा र अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धि हेर्दा निगमले फेरि मूल्यवृद्धि गर्ने सक्ने संसय देखिएको छ । तर पटक–पटक मूल्यवृद्धि गर्दा आलोचना भएपनि निगमले यसको विकल्प खोज्न सकेको छैन् । सरकारी आर्थिक सहायता कै भरमा रहेको निगमलाई अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिले असर पारेको हो । सरकारले निगमलाई आर्थिक सहायता नगरे पेट्रोलियमको मूल्यवृद्धि गर्नुबाहेक अन्य विकल्प निगमसँग छैन् । निगमका अनुसार नेपालमा मासिक २५ अर्बको पेट्रोलियम उपभोग हुने गरेको छ । तर अब पेट्रोलियम पदार्थ किन्न मौज्दात रकम नभएको निगमले बताउँदै आइरहेको छ ।
कमजोर व्यवस्थापन
नेपाल आयल निगमको मुख्य कार्य पेट्रोलियमको भण्डारण, आपूर्ति र बिक्री वितरण गर्नु हो । नेपालको पेट्रोलियम बजारमा करिब ६ दशकदेखि नेपाल आयल निगमकै एकाधिकार छ । तर एकलौटी अधिकार पाएको निगम पेट्रोलियम पदार्थको व्यवस्थापनमा चुकिरहेको छ । प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा पेट्रोलियमको हाहाकार हुने गरेको छ भने सर्वसाधारणले चर्को मूल्य तिरेर पेट्रोलियम किन्न बाध्य छन् । निगमले इन्डियन आयल कर्पोरेसनसँग वृद्धि भएकै मूल्यमा पेट्रोलियम खरिद गरी कर तिरेर बिक्री वितरण गर्दै आइरहेको छ । तर निगमसँग आर्थिक मौज्दात नहुँदा थप समस्या हुने निगमले बदाउँदै आएको छ ।

Translate »