फुकोट–बेतन–दोदोधरा–कर्मादेव विद्युत प्रसारणलाईन : पहिलोपटक कर्णालीमा ४ सय केभीको निर्माण कार्य अघि बढ्यो

२६०० मेगावाट प्रसारण क्षमताको हुने

असार १५, सुर्खेत । कर्णाली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि फुकोट–कर्मादेव ४०० केभी डबल सर्किट प्रसारणलाइनको निर्माणअघि बढेको छ । कर्णाली प्रदेशको फुकोट (कालिकोट) देखि सुदूरपश्चिम प्रदेशको कर्मादेव (कैलालीको नेपाल भारत सीमा) सम्म १२१ किलोमिटर लामो ४०० केभीको प्रसारणलाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत भइसकेको आयोजना आगामी आर्थिक वर्षदेखि निर्माणमा जाने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञावलीले बताए । कम्पनीले यस अघि थप दुई आयोजनाको ईआईए सम्पन्न गरेको भएपनि पहिला निर्माणमा जाने आयोजना भने फुकोट–बेतन–दोदोधरा–कर्मादेव ४०० केभी प्रसारणलाइन आयोजना हुने ज्ञावलीले जनाए । आयोजना अन्तर्गत फुकोट, बेतन र दोदोधरामा गरी ३ ओटा सवस्टेशन पनि निर्माण गरिने छन् ।

निर्माणमा जाने तयारीमा रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनादेखि ९०० मेगावाटको माथिल्लो कर्णाली र ४३९ मेगावाटको बेतन कर्णालीको विद्युत यहि प्रसारणलाइनबाट प्रवाह हुने छ । कर्णाली नदी बेसिनमा निर्माण हुने अन्य आयोजनासमेत गरि कुल २ हजार ६०० मेगावाट विद्युत उक्त प्रसारणलाइनले प्रवाह गर्ने छ । १२१ किलोमिटर लामो प्रसारणलाइनमा करीब ४०० ओटा टावर निर्माण हुने छन् ।

भविष्यमा कर्णाली बेसिनका आयोजनाको विद्युत भारतसम्म निर्यात गर्ने उदेश्यले उक्त प्रसारणलाइनको अन्तिम विन्दु नेपाल भारत सीमासम्म जोडिएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं.११ मा प्रस्तावित फुकोट सवस्टेशनदेखि नेपाल भारत सीमा क्षेत्र कैलालीको भजनी नगरपालिका–५,कर्मादेवसम्म ४०० केभी हार्इ भोल्टेज डबल सर्किट प्रसारणलाइन निर्माण गरिने भएको हो । राष्ट्रिय ग्रिड कम्पनीले वातवरणीय प्रभाव मूल्याकंन गरिसकेको यो आयोजना तीन खण्डमा निर्माण गर्न लागिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यी तीन ओटै खण्डको निर्माण एक साथ अघि बढाउन लागेको हो ।

कम्पनीले निर्माण अनुमति मागेपछि विद्युत विकास विभागले आयोजना निर्माण गर्दा पर्नसक्ने असरका बारेमा रायसुझाव दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ । प्रसारणलाइनको पहिलो खण्ड कालिकोटको फुकोट सवस्टेशनदेखि सुर्खेतको बेतन सवस्टेशनसम्म ५५ किलोमिटर हुनेछ । जसमा करीब १९४ ओटा टावर राखिने छन् ।

सुर्खेतको चौकुनेदेखि कैलालीको बर्दगोरियामा प्रस्तावित दोस्रो खण्ड दोदोधरा सवस्टेशनसम्म ३९ किलोमिटर प्रसारणलाइन निर्माण हुने छ । जसमा करीब १२०  ओटा स्टिल  टावर राखिने छन् । त्यस्तै तेस्रो खण्ड अन्तर्गत दोदोधरा सवस्टेशनदेखि नेपाल–भारत सीमा क्षेत्र कैलालीकै भजनी नगरपालिका–५ कर्मादेवसम्म २७ किलोमिटर लामो  प्रसारणलाइन बन्ने छ । जसमा करीब ९० ओटा टावर राखिने छन् । दोदोधरा(कर्मादेव खण्डको निर्माण कार्य २०८२ असोजभित्र र दोदोधरा–बेतन–फुकोट खण्डको निर्माण २०८३ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ ।

Translate »