लघु, घरेलु कर्णाली प्रादेशिक महोसत्व सकियो


स्काई न्यूज/ असार १५, सुर्खेत । साना लघु, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रथम कर्णाली प्रादेशिक महोत्सव सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर स्थित औद्योगिक ग्राममा सञ्चालित तीन दिने प्रादेशिक महोत्सवमा दश जिल्लाका साना लघु, घरेलु उद्यमी वीच आपसी समन्वय तथा सहयोग गर्ने प्रतिवद्धतासहित चार लाखको कारोवार गर्दै बुधाबार सकिएको हो ।

महोत्सव समापन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले साना लघु, घरेलु उद्योगहरुलाई टिकाइ राख्न दिनप्रतिदिन चुनौतीहरु बढ्दै गईरहेकाले कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढी भन्दा बढी प्रयोगमा ल्याउने नीति निर्माण गरेको बताईन् । उनले सरकारी स्तरबाटै स्थानीय अर्थतन्त्रलाई बलियो बनाए आम नागरिकको समृद्धिको सपना पुरा गर्नका लागि साना लघु, घरेलु उद्योगहरुको प्रवद्र्धन तथा विकास अपरिहार्य रहेको जिकिर गरिन् ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर विसीले महोत्सव, मेला, तथा प्रदेशनीले बजारीकरणमा टेवा पुग्नुका साथै उद्यमी वीच एक आपसमा समन्वय तथा सहकार्यको भावना अभिबृद्धि भएको बताए । महासंघका केन्द्रीय सचिव सचिव दिपकबहादुर बुढाले १५ प्रतिशत महँगो भएपनि स्थानीय उत्पादनलाई बढावा दिन सरकारले नीति बनाएपनि कार्यान्वयनमा नल्याउँदा साना लघु, घरेलु उद्योगहरुको विकास हुन नसकेको जनाए ।


उनले स्थानीय संस्कृति, संस्कारलाई उत्पादनसँग जोडेर कृषि, पर्यटन, वनमा आधारित उद्योगको विकासमा राज्यको ध्यान पुग्न आवश्यक रहेको औल्याए । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता बास्तोलाले महिलालाई स्वरोजगार बनाएर उद्यमी बनाउनका लागि मन्त्रालयसँगै थुप्रै कार्यक्रम भएपनि नीतिगत समस्याका कारणले लक्षित वर्गसँग सिधै पुग्न नसकिएको बताईन् ।

उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय पालिका र प्रदेश सरकारसँग समन्वय गरेर महिला लक्षित कार्यक्रमहरु सञ्चालन भईरहेकाले लाभ उठाउन आग्रह गरे । कार्यक्रममा महिला उद्यमी संघ कर्णाली प्रदेशका अध्यक्ष गोमा वलीले पहिलो कर्णाली प्रदेश स्तरीय कृषि, साना, लघु, घरेलु महिला उद्यमीहरुले उत्पादन गरेको वस्तु तथा सामाग्रीको प्रर्दशनी मेलाले थुप्रै नयाँ अनुभवसँगै उद्यमी वीच सहकार्यको भावना विकास भएको बताईन् ।

कर्णाली प्रदेशका दशै जिल्लाका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि, लघु घरेलु वस्तु तथा साम्रागीहरुको प्रर्दशनी तथा महोत्सव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रिपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा भएको हो । तीन दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय उत्पादनसँगै स्थानीय कला संस्कृतिका झलकहरु प्रर्दशन गरिएको महोत्सवका कार्यक्रम संयोजक रुपाकुमारी भण्डारीले जानकारी दिईन् ।


