२०८३ असोज १२ , सोमबार
Sky News Nepal
September 28, 2026

पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीय बनाउन सकिने



काठमाडौं । सुन्दर यातायात प्रालिद्वारा सञ्चालित सुन्दर अटो इन्जिनीयरिङ प्रालिले पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरलाई तीन घण्टाभित्रै विद्युतीयमा परिणत गर्न शुरू गरेको छ । आफ्नो दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न चाहनेले बिलबुक र सवारीसाधन लिएर सुन्दर अटो इन्जिनीयरिङको कार्यालय धुमबाराही गएमा कम्पनीले यातायात कार्यालयको प्रक्रिया पूरा भएपछि तीन घण्टाभित्र विद्युतीयमा परिणत गरिदिनेछ ।

पेट्रोलियम पदार्थबाट चल्दै आएका बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्ने अभियान देशव्यापी रूपमै सञ्चालनको तयारी भइरहेको कम्पनीले बताएको छ । बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न आउने ग्राहकको संख्या बढ्दै गएको कम्पनीको भनाइ छ । ‘सस्तो मूल्यमा तत्काल र सर्वसुलभ सेवाका लागि तीन घण्टाभित्रै बाइक तथा स्कुटरलाई विद्युतीयमा परिवर्तन गर्न शुरू गरिएको छ,’ सुन्दर अटो इन्जिनीयरिङका अध्यक्ष भेषबहादुर थापाले भने । उनका अनुसार हाललाई सबै कम्पनीका स्कुटर र बाइकको हकमा हिरो कम्पनीकालाई मात्र विद्युतीयमा परिणत गर्न थालिएको छ । विस्तारै अन्य कम्पनीका बाइक पनि विद्युतीय बनाउने काम शुरू गरिने उनले जानकारी दिए ।

‘पेट्रोलबाट चल्ने बाइक तथा स्कुटरमा २०–२५ किलोमिटर यात्रा गर्दा १ लिटर तेल खर्च हुन्छ, जसको बजार मूल्य हाल १७९ रुपैयाँ छ,’ अध्यक्ष थापाले भने, ‘त्यही बाइक वा स्कुटरलाई विद्युतीय बनाएमा सोही दूरी बराबरको यात्रा गर्न ७ रुपैयाँ ५० पैसा मात्र खर्च हुन्छ ।’ कम्पनीको दाबी अनुसार हरेक २० देखि २५ किलोमिटरको यात्रामा उपभोक्ताको करीब १७१ रुपैयाँ जोगिनेछ ।

पेट्रोलियम पदार्थको प्रयोग घटाउने उद्देश्यसहित शुरू गरिएको यो अभियान काठमाडौं र बुटवलमा शुरू भइसकेको र छिट्टै ढल्केबर र नारायणगढमा समेत शुरू गरिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । कम्पनीले दैनिक १० देखि १५ ओटासम्म दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने गरेको छ । हालसम्म २ हजारभन्दा धेरैलाई विद्युतीयमा रूपान्तरण गरिसकिएको कम्पनीले बताएको छ । साथै ८२३ ओटा सवारीसाधनको नयाँ अर्डर आएको अध्यक्ष थापाले बताए । अब चाँडै नै चारपांग्रे सवारीसाधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी उनले दिए ।

सरकारले गत चैतमा राजपत्रमा सूचना प्रकाशन गर्दै पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानूनी रूपमा बाटो खोलिदिएको थियो । यसका लागि प्राविधिक जनशक्ति तयार गर्न सुन्दर अटोले सरकार र विभिन्न संघसस्थासँगको सहकार्यमा नि:शुल्क तालीम समेत सञ्चालन गर्दै आएको छ ।  आर्थिक अभियान

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार
Translate »