२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 14, 2026

सुर्खेतमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती



स्काई न्यूज/ असार २०, सुर्खेत ।  सुर्खेत सदरमुकाम वीरेन्द्रनगर ड्रागन फ्रुटको व्यावसायिक खेती शुरु भएको छ । मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले वीरेन्द्रनगर–१२, नेवारेमा बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती शुरुवात गरेको हो । गत वर्षदेखि सुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ । करिव ७० लाखको एकल लगानीमा २८ कठ्ठा जमिन भाडामा लिएर फर्मले ड्रागन फ्रुटको खेती गर्दै आएको छ ।

हालसम्म एक कुन्टल बढी ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावतले जानकारी दिइन् । उनले आफ्ना श्रीमान स्वर्गीय वीरबहादुर बुढाले दुई वर्षअघि देखि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेकोको जनाईन् । भारतदेखि ल्याईएको ड्रागन फ्रुटको बेर्नाले व्यवसायीक उत्पादन दिन थालेपछि खुशी बढेपनि श्रीमानको मृत्युपछि फर्म सञ्चालनको जिम्मेवारी एक्लैले सम्हाल्नु पर्दा अलि मनमा गाह्रो महसुस भईरहेको उनको भनाइ छ । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि यसको सम्भावना देखेर ड्रागन फ्रुटको खेती अहिले विस्तारै जिल्लाभरी भईरहेको छ ।

‘ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर अनिवार्य हुन्छ । जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोल लगायतका लागि बढी लगानी गर्नुपर्ने हुन्छ,’ बुढाले भनिन्, ‘१४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने अध्ययनले देखाएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि यसतर्फ कृषकले लगानी बढाएका हुन् ।’ ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी बढेपनि पछि राम्रो कमाइ हुने गरेको उनको अनुभव छ । ड्रागन फ्रुट रोपेको एक वर्षदेखि १८ महिनाभित्रै ड्रागन फ्रुट उत्पादनको प्रतिफल दिन शुरु गर्छ ।

 

ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस प्रयोग गर्न सकिन्छ । रातो ड्रागन फ्रुटको मूल्य अहिले बजारमा ६ सय देखि एक हजार प्रति केजी छ । ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम् पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ । एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने अनुमान छ । ड्रागन फ्रुटको फलसँगै विरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ ।

एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ । उत्पादन बढ्दै गएपछि मूल्य केही घट्ने अपेक्षा गरिएपनि यसको बहु उपयोगिताका कारण बजारको माग बढी छ । फर्मको अवलोकन गर्न पुगेका कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले पौरखी व्यक्तिहरुबाटै कर्णालीको कृषि क्षेत्र व्यवसायिक हुने भएकाले प्रदेश सरकारले कृषक प्रोत्साहन कार्यक्रमसँगै अन्य थ्रुपै अनुदान प्याकेज समेत ल्याएको जानकारी दिए ।

उनले ड्रागन फ्रुट उत्पादनपछि विक्रीको समस्या नभएपनि कुनै कारणबस समस्या भएमा सरकारले सहजिकरण गरिदिने प्रतिवद्धता व्यक्त गरे । दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्ड हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेंलो बोक्रा र सेतो रङ हुने गरेको छ ।

यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललाई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फलमा औषधीय गुण समेत भएकाले यसको माग बजारमा उच्च रहेको छ । यसले कब्जियतलाई निको पार्ने अध्ययनले देखाएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिङ्क, वाइन र ब्रान्डी बनाउन समेत सकिन्छ ।

प्रकाशित मिति : २०७९ असार २० गते सोमबार
Translate »