न उठ्छ ऋण, नत बिक्छ धितो : सुर्खेतका व्यापारी भन्छन, ‘बैंकले ज्यानै लिने भयो’


स्काई न्यूज /असार २०, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले अब आउँदो तीन महिना व्यापारीका लागि सकसपूर्ण समय भएको बताएका छन् । उनले् भने, ‘व्यापार व्यवसाय चलेको छैन् । असार मसान्त लागि सक्यो । बैंकले ऋण असुलीका लागि दिनहुँ ताकेता गरिरहेको छ । यस्तो विशंम् परिस्थितिमा व्यापारीको सहारा कोही भेटिएन् ।’
सुर्खेतको वीरेन्द्रनगरमा आईतवार सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वर्तमान आर्थिक संकट, तरलता अभाव तथा बढ्दो बैकिङ्ग व्याजका कारण निजी क्षेत्रमा परेको समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले असार मसान्तको अन्त्यमा व्यापारीलाई व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेकाले ताकेता नगरी केही समयका लागि सहुलियत दिन बैंकहरुलाई आग्रह गरे । उनले सुर्खेतका बजारहरुमा मन्दी छाईसकेकाले व्यापारीलाई मर्नु र बाँच्नको अवस्था रहेकाले राष्ट्र बैंकसँगै सरकारले समेत विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।

हायरपर्चेज कर्जाको औषत ब्याजदर जेठ मसान्तसम्म १४.५३ प्रतिशत छ । बैंकले असार मसान्तसम्म कर्जाको किस्ता, ब्याज भुक्तानी गर्ने समय दिएको छ । बजारमा पछिल्लो ६ महिनादेखि व्यापार व्यवसाय नहुँदा किस्ता भुक्तानी गर्न नसक्ने र अझै कम्तिमा ३ महिना समय थप गर्नु पर्ने माग स्थानीय कम्प्युटर व्यवसायी पूर्णदेव अधिकारीको माग छ । यातायात व्यवसायी श्याम कँडेले भने, ‘कोरोनापछिको समस्या सर्वज्ञात हुँदा हुँदै अर्को तर्फ बैंक वित्तीय संस्थाहरुले ऋणीलाई असार मसान्त अगावै किस्ता भुक्तानीको लागि दवाब दिइरहेका छन् ।’
बैंकले किस्ता, ब्याज तिर्न अत्यधिक दवाब दिएको भन्दै केही व्यवसायीहरुले सवारीको चाबी कर्जा लिएको बैंकमा नै बुझाउन बाध्य पारिएको बताउँछन् । बैंक तथा वित्त कम्पनीहरुले साँवा ब्याज तिर्नलाई ताकेता गरेको हुनाले व्यवसायीहरुले चाबी बुझाउनुको विकल्प नभएको पुजा मण्डीका प्रोपराईटर पूजा सिंहले बताईन् ।
‘व्यवसाय क्षेत्रको समस्या न सरकार न राष्ट्र बैंकले, अर्थमन्त्री हुन् या बैंकहरुले व्यवसायीको गुनासो सुन्ने र बुझ्ने कसैले गरेका छैनन्,’ उनले भनिन्, ‘कसैले बुझ्ने प्रयास नै नगरेपछि बैंकमा चाबी बुझाएर हामीले आत्मसमर्पण गर्नुको विकल्प छैन् ।’ उनले पछिल्लो ३ महिनाको अवधिलाई शून्य मानेर आउँदो न्यूनतम् ३ महिनासम्म कर्जाको किस्ता र ब्याज भुक्तानीको समय सार्न माग गरिन् । हाम्रो अरु ब्याज छुट वा मिनाह जस्ता कुनै प्रकारका राहतको माग पनि नरहेको उनको भनाइ छ ।

व्यवसायीहरुले समबन्धित सरकारी निकाय, व्यक्तिहरुलाई गरेको पटक–पटक अनुरोधलाई स्वीकार नगरी बैंक तथा वित्त कम्पनीले दिनहुँ असार मसान्तसम्म कर्जाको किस्ता ब्याज भुक्तानी गर्न दवाब दिईरहेको व्यवसायीहरुको भनाइ छ । ‘बैंकका कर्मचारीले फोन गर्नु मात्र होइन घर–घरमा नै आएर असारसम्मको साँवा ब्याज बुझाउनुस्, यदी बुझाउनु भएन भने तपाइको छोरा नातिले कुनैपनि बैंक ऋणी खान पाउँदैनन्, कालो सूचीमा पर्नु हुन्छ भन्दै मानसिक दवाब /तनाव दिने गरिरहेका छन्,’ व्यवसायी रमेश पाण्डेले गुनासो गरे, ‘ऋणीलाई मात्र नभएर उसको अन्य परिवारका सदस्य, छोराछोरीलाई समेत बैंकले घर–घरमा नै आएर कर्जा तिर भन्दै टर्चर दिन थालेका छन् ।’
व्यवसायीहरु बैंकको किस्ता तिर्नेभन्दा पनि बिहान बेलुका छाक कसरी टार्नेभन्ने अवस्थामा रहेको उनले गुनासो गरे । ‘यस्तो अवस्थामा बैंकले गरेको टर्चर कै कारणले कोही व्यवसायीलाई तलमाथि केही हुन गयो भने को जिम्मेवार हुन्छ ?’ उनले भने, ‘केही दिनअघि एकजना व्यवसायी साथीले आत्महत्या गर्नुभयो ।’


अबका दिनमा बैंकहरुले ऋण तिर्ने म्याद बढाउन नसक्ने भयें मर्नुभन्दा बहुलाउनै निको भएको हुँदा आफ्नो जोगाउको लागि व्यवसायीहरु जुनसुकै प्रक्रिया अपनाउन पनि तयार रहेको सुर्खेत चेम्वर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले बताए । उनले बैंकहरुबाट व्यवसायीलाई असार मसान्त भित्र नै साँवा ब्याज भुक्तानीको लागि अत्याधिक दबाव आईरहेकाले अब बैंकका विरुद्ध नै विरोधका कार्यक्रम लिएर उत्रिर्नुपर्ने समय आएको जनाए । ‘व्यवसायीहरु अहिले धेरै मर्कामा छन्, यही बेला बैंकको पेलान धेरै भइरहेको छ,’ उनले भने, ‘सरकारले व्यवसायी बचाउन छिटो छरितो रुपमा नीति ल्याएर लागू गर्नु पर्यो ।’
बैंकको साँवा किस्ता समय सार्न, पुर्नकर्जाको व्यवस्था गर्न, बैंकको ब्याजमा छुट, कागजपत्रको नविकरण गर्दा सहुलियत दिने लगाएतका माग व्यवसायीहरुले बजेट निर्माणको क्रमदेखि हाल मौद्रिक नीति निर्माणको क्रममा समेत गर्दै आएको शर्माले बताए । । उनका अनुसार सरकारले नीतिगत सहजीकरण गरिदिनु पर्छ । ‘सरकार भने जनताको अभिभावक हो,’ उनले भने, ‘बच्चा रुदा आमाले भोक लागेर रोएको हो या बिरामी भएर रोएको हो त्यो थाहा पाउनुपर्छ । सरकारलाई समस्या सम्झाउदैमा हाम्रो २ जोर जुत्ता फाटिसके तर अभिभावक भएर बसेको सरकारले मूकदर्शक बनेर बसेको छ ।’ बैंकहरुले व्यवसायीलाई यसरी साँवा किस्ता भुक्तानी गर्न दवाब दिँदा केही अप्रिय घटना समेत घट्न सक्ने हुँदा सरकार समयमै सचेत हुन उनले आग्रह गरे ।

बैंकरहरु अहिले ठूला धितो बिक्री गर्नु र कर्जा असुली गर्नु ठूलो चुनौति नै बनेको बताउँछन् । अहिले अर्थतन्त्रमा संकट देखिएको बेला ऋणीलाई पनि समस्या हुँदा त्यसको प्रत्यक्ष मारमा बैंकहरु परेका हुन् । बैकर्स एशोसिएशन कर्णाली प्रदेशका अध्यक्ष राजन पोखरेलले भने, ‘बजारमा तरलता आएकाले अहिले ठूला उद्योगी तथा होटल व्यवसायीहरु पनि समस्यामा नै छन्, उनीहरुले ऋणको ब्याज तथा किस्ता पनि तिर्न नसकेको गुनासो गर्छन्, बैंकिङ प्रणालीमा पनि तरलताको संकट छ, ऋण असुलीका लागि भएपनि रिकभरीमा जानै पर्ने अवस्था हामीलाई छ ।’

उनले बैंक तथा वित्तीय संस्थामा तरलताको संकट भइरहेको बेला बैंकहरुलाई ऋण असुली र ऋण रिकभरीमै समस्या देखिएको जनाए । कोरोना भाइरसको संकटमा परेको व्यवसाय र अहिले रुस–युक्रेनबीचको युद्धले समस्या हुँदा अर्थतन्त्रमा समस्या भइरहेका बेला त्यसको प्रत्यक्ष मार बैंकलाई परेको हो । राष्ट्र बैंक सुर्खेतका निर्देशक विनय सिग्देलले भने, ‘आर्थिक समस्या झेलिरहेका विभिन्न उद्योग, व्यवसाय तथा ऋणीहरुले ऋण नतिरिरहेको बेला बैंकहरुलाई सावाँ ब्याज असुलीमा मात्रै होइन ऋण रिकभरीमा पनि समस्या देखिएको छ ।’ उनका अनुसार ऋण पनि असुल नहुँदा चौथो त्रैमासमा बैंकहरुको नन् बैंकिङ एसेट (एनपीए) बढ्ने देखिएको छ ।

अहिले राष्ट्र बैंकले निगरानी बढाउनुका साथै बैंक–बैंकमा पुगेर सुक्ष्म निगरानी पनि गरिरहेको छ, त्यसैले पनि बैंकहरुलाई अहिले ‘एक्ज्याक्ट पिक्चर’को रिपोर्ट देखाउनु पर्ने बाध्यता छ । बैंकहरुले कर्जा लगानी रोकेर पुरानो ऋण असुली र कर्जा रिकभरीमै लागेका हुन् । अहिले विशेष गरेर पर्यटन र निर्माण क्षेत्रका व्यवसायीले बैंकको ऋण नतिरेको बैंकहरुको भनाइ छ । बैंकरहरुका अनुसार सोच अनुसारको कर्जा असुली नहुँदा असारमा खराब कर्जा बढेर औसत २ प्रतिशत पुग्ने देखिएको छ । (मिति २०७९ असार २० गतेको स्काई न्यूज दैनिकमा प्रकासित समाचार)

