राराताल क्षेत्रमा बिजुली पुग्यो

प्राधिकरणले २९९० मिटर उचाईंमा पुर्‍यायो विद्युत

असार २०,सुर्खेत । नेपाल विद्युत प्राधिकरणले मुगु जिल्लामा रहेको रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा २ हजार ९९० मिटर उचाइमा अवस्थित ताल क्षेत्रमा विद्युत पुर्‍याइएको हो ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित विद्युत करीब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी सोमवारबाट रारा क्षेत्रका ग्राहकलाई उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो । अव जलविद्युतगृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने छ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत आपूर्ति पाएका छन् ।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ । विद्युत  प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमवारबाट सञ्चालनमा ल्याइएको बताए ।

‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्‍याउन सफल भएका छौं,’ यादवले भने ।

Translate »