जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान

असार २३, सल्यान । जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गरिएको छ । संघीय सरकारको ७१ लाख अनुदानमा दैनिक १ हजार ६ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्ट जडान गरेपछि आउँदा दिनमा बिरामीका आफन्तलगायत सम्बन्धित निकायले खाली सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । अक्सिजन प्लान्ट जडान गरेपछि सल्यानमात्र नभई रोल्पा रुकुमका स्थानीयसमेत लाभान्वित हुने भएका छन् । जडान गरिएको अक्सिजन प्लान्टको बिहीबार जिल्ला समन्वय समिति सल्यानका उपप्रमुखले उद्घाटन गरेका थिए । कोरोना महामारीको समयमा चरम अभाव भएकोले त्यसलाई पूर्ति गर्न जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले बताएका छन् ।

कोरोनाका बिरामीका लागिमात्र नभई अक्सिजनको समस्या हुने सबै खालका बिरामीले सहजरुपमा अक्सिजन पाउने उनले जानकारी गराए । अक्सिजन अभावमा जिल्ला अस्पताल आएका कसैले ज्यान गुमाउन नपर्ने उनको दाबी छ । ‘अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले ७५ लाख विनियोजन गरेको थियो । उक्त बजेटअनुसार टेन्डर गरेपछि मुनरक ईन्टरनेसनल प्रालिले ७१ लाखमा काम गर्ने जिम्मेवारी पाएको थियो,’ उनले भने, ‘उक्त प्लान्ट दुई÷चार महिना अगाडि नै जडान गरिसक्नु पर्ने थियो । संघले पठाएको बजेट टेन्डर गरिसकेपछि स्थानीय निर्वाचनअघि फिर्ता गएको थियो । गत जेठमा पुनः बजेट पठाएपछि जडानमा केही ढिलाई भएको हो ।’


जिल्ला अस्पताल सल्यानका ईन्चार्ज एमडीजीपी डा. अभिषेक सिंहले अक्सिजन प्लान्ट जडानपछि जिल्लावासीलाई धेरै फाइदा भएको र आउँदा दिनमा कोरोना, दम तथा अन्य बिरामीले अक्सिजनका लागि सिलिन्डर बोकेर विभिन्न जिल्ला धाउन नपर्ने बताए । सल्यानमात्र नभई रुकुम, रोल्पा र जाजरकोटवासीसमेत लाभान्वित हुने उनको भनाइ छ । ‘गत कोरोनाको महामारीका बेला अक्सिजन अभाव भएका कारण धेरैले ज्यान गुमाएका थिए । अक्सिजनको बिरामीका आफन्तमात्र नभई सबैले सास्ती भोग्दै आएका थिए,’ उनले भने, ‘आउँदा दिनमा कसैले सास्ती भोग्नु पर्दैन । अक्सिजन नभई नहुने सबै खालका बिरामीले सहज तरिकाबाट अक्सिजन पाउनेछन् ।’

अक्सिजन प्लान्टको अभावकै कारण अहिलेसम्म अस्पतालमा भेन्टिलेटर र आईसीयु संचालन हुन नसकेको भए पनि आउँदा दिनमा सरकारले दक्ष जनशक्ति व्यवस्था गरेमा अस्पतालमा थन्किएका सामग्रीलाई प्रयोग गरेर आईसीयु तथा भेन्टिलेटरसमेत संचालन गर्न सकिने उनले जानकारी गराए । १५ शैयाको जिल्ला अस्पताल सल्यानमा अहिले ३५ शैया राखेर बिरामीको उपचार भइरहेको र दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरेका उनको भनाइ छ । अस्पताल विकास समिति सल्यानका अध्यक्ष चन्द्रप्रकाश ओलीले उत्पादन भएको अक्सिजन अस्पतालमा आएका बिरामीमात्र नभई बाहिरबाट कोही खाली सिलिन्डर ल्याएमा सीमित शुल्क लिई भरेर उपलब्ध गराउन सकिने बताएका छन् । (इकान्तिपुर)

Translate »