घट्यो जग्गाको मूल्य, जग्गा बेचेर शेयर किन्दै व्यावसायी !

असार २४, काठमाडौं । सितापाइला रामकोट क्षेत्रको एउटा प्लटिङमा जग्गाको मूल्य प्रतिआना १७ लाख रूपैयाँ तोकिएको छ । केही समयअघि त्यही ठाउँमा प्रतिआना २० देखि २५ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको थियो ।

ललितपुर ठेंचोमा पनि प्रतिआना १७ लाख रूपैयाँमै जग्गा किन्न पाइन्छ । केही समयअघिसम्म उक्त क्षेत्रमा जग्गाको मूल्य २२ देखि २५ लाख रूपैयाँ थियो ।
भक्तपुर चागुनारायण क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिआना १२ देखि १६ लाख रूपैयाँसम्ममा झरेको छ । केही समयअघिसम्म त्यहाँ पनि प्रतिआना २० लाख रूपैयाँ घटीमा जग्गा पाइँदैनथ्यो ।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले उपत्यकामा जग्गाको मूल्य तीव्र गतिमा घटिरहेको छ ।

केही समयअघिसम्म कुना काप्चाको जग्गा पनि प्रतिआना २५ लाख रूपैयाँसम्ममा किनबेच हुने गरेकोमा अहिले भने चक्रपथबाट २/३ किलोमिटर मात्रै बाहिर पनि प्रतिआना १७ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको छ ।

तर, यसरी मूल्य घटेर विक्रीमा राखिएका जग्गा आर्थिक समस्या भएका जग्गाधनीका मात्रै हुन् ।

‘जसलाई आर्थिकरूपमा कुनै समस्या छैन, उनीहरूलाई जग्गा बेच्नु नै छैन,’ मेघना रियल इस्टेटका सञ्चालक एमके राउतले आर्थिक अभियानसँग भने, ‘जसलाई जग्गा बेच्नु छ, ऊ कुनै न कुनैरूपमा आर्थिक संकटबाट गुज्रिएको छ ।’

बजारमा जग्गाको आपूर्ति बढेको तर किन्ने मान्छे थोरै भएकाले मूल्यमा चाप परेको व्यवसायीहरूले बताएका छन् ।

जग्गा किनबेचसम्बन्धी एक तथ्यांकले पनि पछिल्लो समय जग्गाको कारोबार घटेको देखाउँछ । तथ्यांक अनुसार गत कात्तिकमा काठमाडौंमा ७५ हजार जग्गा किनबेच हुने गरेको थियो । गत जेठमा भने त्यो संख्या  ५५ हजारमा झरेको छ । असारमा त्यो संख्या अझै घट्न सक्छ ।

तथ्यांक अनुसार असारमध्यसम्ममा २२ हजार जग्गा खरीदविक्री भएका थिए । यस आधारमा असारमा ४४ हजार जग्गाको कारोबार हुने देखिन्छ ।

जग्गा बेचेर शेयर किन्दै व्यवसायी

शेयर बजार ३२०० अंक पुगेको बेला शेयर बेचेर जग्गा किनेका व्यवसायीहरू यतिबेला भने जग्गा बेचेर शेयर बजारमा फर्किरहेको पनि राउतले बताए ।

जग्गा होल्ड गरेर राख्दा मूल्य बढ्ने छाँट नदेखिएपछि २/४ लाख रूपैयाँ घटेरै भए पनि जग्गा बेच्नका लागि व्यावसायीहरू रियल इस्टेट कम्पनीमा आएको उनले बताए ।
त्यसरी जग्गा बेच्न आउनेहरू कोही आर्थिक संकटबाट गुज्रिएका छन् भने कोही शेयर बजारमा लगानी गर्न चाहनेहरू रहेको राउतको भनाइ छ ।

जग्गाको वर्गीकरण नभए अर्थतन्त्र धरासायी

भूउपयोग नियमावली कार्यान्वयनमा ल्याउन जग्गाको वर्गीकरणबिना कित्ताकाट गर्न बन्देज गरिएको छ । जग्गा वर्गीकरणको जिम्मा पाएका स्थानीय तहहरू यसबारे अन्योलमा छन् ।

तत्काल जग्गाको वर्गीकरण गरेर कित्ताकाट नखोल्दा घरजग्गा क्षेत्र नै धरासायी हुने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेले बताए । नेपालको अर्थतन्त्र पूर्णतया घरजग्गामाथि निर्भर रहेको हुँदा घरजग्गा क्षेत्रमा असर पर्दा अर्थतन्त्र प्रभावित हुनेमा वाग्लेको चिन्ता छ ।

स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसक्ने भएकाले भूमि सुधार मन्त्रालयले नै यसको निकास दिनुपर्ने पनि वाग्लेको भनाइ छ । यसको निकास दिन आवास र बस्ती विकासको काम गर्न चाहनेलाई त्यसको अनुमति दिनुपर्ने, उद्योग राख्न चाहनेलाई त्यसको अनुमति दिनुपर्ने र बाँकी रहेको जग्गा कृषि क्षेत्र भनेर वर्गीकरण गर्न सकिने उनको सुझाव छ ।

वर्गीकरण नगर्दा कारोबार रोकिएर धरापमा पर्ने यो क्षेत्र वर्गीकरण गर्दा कृषियोग्य जग्गामा गएको ऋण असुलीका कारण धरापमा पर्न सक्ने जानकारहरू बताउँछन् ।

कर्जा लिन जग्गा धितो राख्दा समस्या

उद्योग, व्यापार वा व्यवसाय जेसुकै गर्नका लागि कर्जा लिन जग्गा नै धितो राख्ने गरिएकाले समस्या निम्त्याएको जानकारहरू बताउँछन् ।

भूउपयोग वर्गीकरण गर्दा कृषियोग्य जग्गाको मूल्यांकन घट्नेवित्तिकै धेरै व्यापार व्यवसाय गरिरहेकाले आधा पैसा बैंकलाई फिर्ता गर्नुपर्ने अवस्था आउन सक्ने नेपाल रियल इस्टेट अर्गनाइजेशन (एनरियो)का महासचिव विनोद सुवेदीले बताए ।

घरजग्गालाई मात्रै धितो स्वीकार्ने बैंकका कारण नेपालको अर्थतन्त्र टाट पल्टिए त्यसको मुख्य कारण घरजग्गा हुने सुवेदीको जिकिर छ । आर्थिक अभियान

Translate »