नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप

असार २५, काठमाडौं । अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।  चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन–२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको भन्सार विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ ।

कुन देशबाट कति आयात ?

नेपालमा भारत, थाइल्यान्ड, फिलिपिन्स, सिंगापुरलगायत देशबाट आँप भित्रिने गरेको छ । तीमध्ये ठूलो हिस्सा भारतबाटै आयात हुने गरेको छ । चालू आर्थिक वर्षको ११ महिना (२०७८ साउन–२०७९ जेठसम्म) मा नेपालले भारतबाट ७१ करोड ७३ लाख २६ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ८९ किलोग्राम आँप आयात गरेको छ । यो उक्त अवधिमा भएको कूल आयातको ९९ दशमलव ९६ प्रतिशत हो ।

यस अवधिमा नेपालले ७१ करोड ७५ लाख ९४ हजार रूपैयाँको १ करोड ४८ लाख ५२ हजार ६३० किलोग्राम आँप आयात गरेको विभागले जनाएको छ । अन्य देशबाट गरिने आयात नगन्यरूपमा छ । विभागको तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको ११ महीनामा थाइल्यान्डबाट १ लाख २९ हजार रूपैयाँको ३०० किलोग्राम आँप भित्र्याएको छ । नेपालले फिलिपिन्स र सिंगापुरबाटसमेत आँप आयात गर्ने गरेको छ । तर, यो वर्ष ती देशहरूबाट आँप आयात भएको छैन ।

युगान्डाको महँगो, भारतको सस्तो

नेपालले आयात गर्ने आँपमध्ये सबैभन्दा महँगो युगान्डाको रहेको छ । चालू आर्थिक वर्षको ११ महीनामा युगान्डाबाट भित्रिएको आँपको मूल्य प्रतिकिलोग्राम ५७५ रूपैयाँ परेको छ । यो रकम युगान्डाबाट आयात भएको आँपको मूल्यलाई परिणामले भाग गरी निकालिएको हो । यस्तै, भारतबाट आयात हुने आँप सस्तो पर्ने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको ११ महीनामा भारतबाट आयात भएको आँपको मूल्य प्रतिकिलोग्राम ४८ रूपैयाँ २९ पैसा परेको छ । त्यसैगरी, थाइल्यान्डबाट भित्रिने आँपको मूल्य ४ सय ३० रूपैयाँ परेको विभागले जनाएको छ । आर्थिक अभियान

Translate »