कर्णाली प्रदेश : बैंक निक्षेपको वृद्धिदर घट्यो कर्जा प्रवाह उच्च

असार ३२, सुर्खेत । तरलता अभावबाट बैंक तथा वित्तीय संस्थाका ग्रामीण शाखाको निक्षेप संकलन र कर्जा प्रवाह पनि प्रभावित भएको पाइएको छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनले बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको असर ग्रामीण क्षेत्रमा पनि देखिन थालेको उजागर गरेको हो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष (आव) २०७८र७९ को पुसमा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ दशमलव ५३ प्रतिशतले वृद्धि भई ४९ अर्ब ३० करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा निक्षेप ३७ दशमलव ३७ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४३ करोड रुपैयाँ पुगेको थियो । कर्णालीमा रेमिट्यान्स (विप्रेषण)आप्रवाह, बैंकिङ सेवामा भएको विस्तार तथा सर्वसाधारणमा बचत गर्ने बानीको विकासले निक्षेप वृद्धि भए पनि राष्ट्रिय स्तरमै देखिएको तरलता अभावका कारण यसको वृद्धिदर चाहिँ घटेको प्रतिवेदनले औंल्याएको छ ।

निक्षेप वृद्धिदर घटे पनि कर्जा वृद्धिदर भने बढेको पाइएको छ । चालू आवको पुससम्ममा बैंकहरूको कर्जा ३० दशमलव ७३ प्रतिशतले बढेर ५५ अर्ब ७५ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कर्जा २१ दशमलव ३९ प्रतिशतले बढेर ४२ अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको थियो ।

कोभिड–१९ संक्रमणको प्रभाव न्यून भई अर्थतन्त्र चलायमान हुँदै गएपछि कर्जा विस्तारमा वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ । यसैगरी सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि तथा मौद्रिक नीतिले प्रदान गरेका अन्य विभिन्न छूट तथा सुविधाले पनि कर्जा प्रवाह बढाउन योगदान गरेको प्रतिवेदनमा उल्लेख छ ।
निक्षेपको तुलनामा उच्च कर्जा प्रवाह भएपछि चालू आवको साउनदेखि पुससम्ममा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ११३ दशमलव शून्य ७ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा सीडी रेसियो ९८ दशमलव २० प्रतिशत थियो ।
निक्षेप र कर्जामा जिल्लागत रूपमा सुर्खेत सबैभन्दा अगाडि देखिन्छ । सुर्खेतमा १९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन र ३३ अर्ब ५७ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा भएको छ । मुगुमा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । डोल्पा जिल्लामा सबैभन्दा कम कर्जा प्रवाह भएको छ । यस जिल्लामा ४९ करोड २० लाख रुपैयाँमात्र कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ ।
चालू आवको पुससम्ममा कर्णालीमा निक्षेपकर्ताको संख्या ३७ दशमलव ४२ प्रतिशतले बढेर १४ लाख ७४ हजार ७७८ पुगेको छ । गतवर्ष सोही अवधिमा यो संख्या २४ दशमलव शून्य ५ प्रतिशतले बढेर १० लाख ७३ हजार १९७ पुगेको थियो । यस्तै २०७८ पुस मसान्तसम्म ऋणीको संख्या २१ दशमलव शून्य ३ प्रतिशतले वृद्धि भई ४६ हजार पुगेको थियो । (आर्थिक अभियान)

