फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने
साउन ५, कालिकोट । कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।
प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।’आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए ।
आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ । आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन् । विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए। आयोजनाको अनुमानित लागत रु ९२ अर्ब ३० करोड रहेको छ । आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए । हालसम्म रु ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।