बड्डीचौर–खम्बागाडे सडक कालोपत्रे हुँदै


स्काई न्यूज/ साउन ६, सुर्खेत । पश्चिम सुर्खेत जाने एक मात्र बड्डीचौर–खम्बागाडे सडकको स्तरोन्नती हुने भएको छ । सडकको ट्¥याक खुलेको झण्डै २८ वर्षपछि कर्णाली प्रदेश सरकारको लगानीमा कच्ची सडकलाई पक्की बनाएर स्तरोन्नती गर्न लागिएको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डको साढे १२ किलोमिटरमा मात्र कालोपत्रे गर्न लागिएको छ । करिब ९४ किलोमिटर लम्वाई रहेको बड्डीचौर–गुटु–बेनिघाट सडक अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकको मात्र कालोपत्रे कार्यको विहीबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शिलान्यास गरेका छन् । सडक कालोपत्रेका लागि अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयसँग सम्झौंता गरेको हो ।
निर्देशनालय र जेभीवीच गत असार १४ गते भएको सम्झौंता अनुसार आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्ने समय सीमा तोकिएको छ । निर्माण कम्पनीका अनुसार पहिलो चरणमा नाला निर्माण, सडक विस्तारलगायतका कामहरु हुनेछन् भने दोस्रो चरणमा आगामी आर्थिक वर्ष कालोपत्रेको काम गरिनेछ । कालोपत्रे शिलान्यास कार्यको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले मदन भण्डारी राजमार्ग आयोजनाले डीपीआर निर्माण गरेपनि हालसम्म काम गर्न नसकेकाले नागरिकले दिनहुँ भोकिरहेको समस्यालाई ध्यानमा राख्दै हाललाई साढे १२ किलोमिटर कच्ची सडकको कालोपत्रे गरेर स्तरोन्नती गर्न लागिएको बताए । उनले वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने कच्ची सडकमा भएका खाल्टाखुल्टीका कारणले सवारी साधनसँगै पदैल यात्रुलाई आवतजावत भईरहेको कठिनाई कालोपत्रेसँगै अन्त्य हुने विश्वास व्यक्त गरे ।
‘पश्चिम सुर्खेतको विकासका लागि नेकपा सरकारले डीपीआर गरेर सडक स्तरोन्नती गर्न शिलान्यास गरेपनि निर्माणमा चाँसो देखाएन,’ उनले भने, ‘नागरिकले दिनहुँ भोग्नु परिरहेको समस्यालाई तत्काल सम्बोधन गर्न प्रदेश सरकारबाट बजेट विनियोजन गरेर कालोपत्रे कार्यको शुभारम्भ गरेका हौं ।’ उनले सडक कालोपत्रे कार्य तोकिएकै समय सीमा भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । संघ सरकारले सडक निर्माणमा चाँसो नदेखाएपछि प्रदेश सरकारले सडक कालोपत्रे गर्न अपनत्व लिन बाध्य हुनु परेको उनको भनाइ थियो ।

यता शिलान्यास कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले सडक स्तरोन्नतीका क्रममा आउन सक्ने जस्तोसुकै समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको बताए । लामो समयदेखि पश्चिम सुर्खेतको सडक सञ्चालनमा आएपनि स्तरोन्नति नहुँदा यहाँका नागरिकहरुले सास्ती भोग्दै आएका छन् । साँघुरो सडक, खाल्टाखुल्टी र खोलाहरुका कारण पश्चिम सुर्खेतका नागरिकहरुलाई सदरमुकाम वीरेन्द्रनगर आउन समस्या हुने गरेको छ ।

संघको वेवास्ताले प्रदेश जुट्यो
मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डको हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सकिएपनि सडकको स्तरोन्नतीका क्रममा वातावरणिय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन (ईआईए) समय सीमा भित्र स्वीकृत नहुँदा निर्माणमा ढिलाई भईरहेको छ । पहिलो पटक पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई वर्ष अघि तामझामका साथ बड्डीचौर–गुटु–बेनिघाट पक्की सडकको डीपीआर कार्यको शिलान्यास गर्नु भएको थियो । त्यसयता (नेशनल हाइवे–जीरो नाईन) सुर्खेत जिल्ला अन्तर्गत पर्ने कुल २३२ किलोमिटर मध्ये ९४ किलोमिटर कच्ची सडकलाई पक्की बनाउन डीपीआर सम्पन्न भएपनि ईआईए प्रतिवेदन कार्यान्वयनमा जान नसक्दा स्तरोन्नतीमा ढिलाई भएको हो । बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डको स्तरोन्नतीका लागि मदन भण्डारी आयोजना कार्यालयले (ईआइए) समयमा स्वीकृत गराउन नसक्दा अब लागत बढानुका साथै अतिरिक्त थप व्यवस्थापकीय जटिलता बढाएर सडक निर्माण कार्यलाई पछाडी धकेल्ने कार्य गरेको सरोकारवालाको आरोप छ ।
आयोजनाले समयमा ईआईएका लागि आवश्यक पूर्वाधार कार्यहरु पुरा नगरि वन तथा वातावरण मन्त्रालयमा फाईल रोकिएको भन्दै पन्छिएर सडक स्तरोन्नती कार्य रोकिएको छ । वड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको डीपीआर पुरा भएपनि अन्य कुनै काम अघि बढेको छैन् । बराहताल गाउँपालिका–५ बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्वागाडेसम्मको साढे १२ किलोमिटर सडक प्रदेश सरकारले कालोपत्रे गर्ने निर्णय बमोजिम शिलान्यास गरेको हो । बड्डीचौरलाई शून्य विन्दु मानेर संघीय सरकारले दुई वर्षअघिनै सडकको डीपीआर तयार पारेपनि तत्काल सडक विस्तार र कालोपत्रे हुने नदेखिएपछि प्रदेश सरकारले अहिले सडकको कालोपत्रे गर्ने कामको अपनत्व लिएको छ ।


