हरेक प्रदेशमा गुड्ने मिनी अस्पताल
सााउन ८, काठमाडौं । नेपालमा सामान्य खालको स्ट्रेचर, केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम, सुविधा अभावले बिरामीको बीच बाटोमै मृत्यु हुने अवस्थाको सामना गरिरहनुपरेको छ ।
तर, अस्पतालमा मात्र प्राप्त हुने महत्वपूर्ण सेवा भेन्टिलेटर, बिरामी निगरानी मेशिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसीजी मेशिन, अल्ट्रासाउन्ड मेशिनलगायत उपकरण कुनै एउटा गाडीमा हुन्छ । त्यसभित्र एउटा होइन ६–६ ओटा सुविधायुक्त शय्या र साथमा सीसी क्यामरा ।
मिनी अस्पतालका रूपमा रहेका ती सुविधासहितका त्यस्ता गाडी विकसित मुलुकमा प्रयोग भइरहेका छन् । तर, हाम्रोजस्तो विकासोन्मुख मुलुकमा त्यस्तो सुविधायुक्त सवारीसाधन सञ्चालन होला ? हामी धेरैलाई विश्वास लाग्न गाह्रै हुन्छ । अब भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता सवारीसाधन नेपाल ल्याएर अविश्वासलाई विश्वासमा बदलिदिएको छ । एउटा जटिल बिरामीलाई अस्पतालले उपचार गर्ने सुविधासहितको सेवा प्राप्त हुने सवारीसाधन नेपालमा पहिलोपटक भित्रिएको हो ।
अबका विपत्तिमा ती गाडीले नेपालमा पनि सेवा थाल्नेछन् र अकाल मृत्यु घटाउन सहयोग गर्नेछन् । चिकित्सक नआइपुग्दा पनि टेलिमेडिसिनका रूपमा चिकित्सकलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
उनले उक्त गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पतालका रूपमा लिइएको र विपद्मा परेका मानिसको ज्यान बचाउन सहयोगी हुने विश्वास रहेको बताए । उनले यस्तो प्रकारको गाडी नेपालमा पहिलोपटक भित्रिएको दाबी पनि गरे ।
यस्ता सुविधायुक्त आठ ठूला गाडी र आठओटा ‘ए क्लास’का एम्बुलेन्स सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीले पाएको छ । सरकारले उक्त गाडी मल्टी डोनर ट्रस्ट फन्ड र विश्व बैंकको व्यवस्थापन सहयोगमा प्राप्त गरेको हो ।
मुख्यतः उक्त फन्डमा अमेरिकी सहयोग नियोग ९यूएसएड०, बेलायती सहयोग नियोग ९एमसिडिओ०, क्यानेडियन एड र स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेशनको पैसा परेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले शनिवार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ती गाडीको साँचो हस्तान्तरण गरेका छन् । उक्त गाडीहरू हरेक प्रदेशमा एक–एक र केन्द्रमा एकओटा रहनेछ । विपत्तिमा परेका र गम्भीर घाइते भएका मानिसलाई अस्पताल ल्याउन नसक्ने अवस्था भएमा, तत्कालै उपचार जरुरी परेमा सोही गाडीमा उपचार गर्न सकिन्छ । गाडीभित्रै ६ जनालाई सुविधायुक्त शय्यामा राखेर उपचार गर्न सकिन्छ भने केही बिरामीलाई अन्य कुर्सीमा समेत राखेर उपचार गर्न सकिने सुविधा छ ।
प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको नेपालजस्तो मुलुकका लागि उक्त गाडीको प्रयोगले विपद्मा परेका मानिसलाई अकाल मृत्युबाट जोगाउने विश्वास गरिएको छ । नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा छ । कठिन भौगोलिक अवस्थाका कारणले भूकम्प, बाढीपहिरो, डुबान, आगलागीजस्ता विपद् बल्झिरहन्छन् । कोभिडजस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । सडक, हवाई र निर्माणसम्बन्धी ठूला दुर्घटना भइरहेको छ । त्यसैले जनताको जीवनरक्षाका लागि यस्ता गाडी सहयोगी हुन्छन् । सरकारसँगको सहमतिअनुसार अशोक लेल्यान्डले उक्त गाडी खरीद गरी सरकारलाई बेचेको हो । उक्त गाडीलाई विपद् सामूहिक उद्दार एम्बुलेन्सको नाम दिइएको छ ।
यसले बिरामी ओसारपसारमात्र गर्दैन, यसमा रहेको उपकरणले गाडीलाई मिनी अस्पताल वा गुड्ने अस्पताल नै बनाएको छ । डाक्टर र नर्सले बाटोमै बिरामीको उपचार र हेरचाह गरी बचाउन सक्छन् ।
जीवन बचाउने आधुनिक उपकरण, महत्त्वपूर्ण हेरचाह सुविधा यसमा छ । यसमा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेशिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सन्ट्रेटर, इसीजी मेशिन, अल्ट्रासाउन्ड मेशिन, सीसीटीभी क्यामेरा छन् । उक्त गाडी एउटाको झन्डै १ करोड पर्ने बताइएको छ । ठूला घटनामा उद्धार गर्न मद्दत गर्नेछ ।
गृहमन्त्री खाणले गाडी निरीक्षण गर्दै यसले जुनसुकै विपत्तिमा परेका मानिसको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान गर्नै विश्वास व्यक्त गरे । शनिवारै प्राधिकरणले अपांगता भएकाहरूका लागि १५१ प्रकारका सहयोगी सामग्रीसमेत राष्ट्रिय अपांग कोषलाई हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले अपांगता भएकाहरूका लागि बजेट बढाउनुपर्ने आवश्यकता औंल्याउँदै हरेक क्षेत्र उनीहरूका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिए । उनीहरूको जीवनयापनलाई कसरी सहज बनाउने भन्नेमा नै सरकारको ध्यान रहेको बताए ।
गृहसचिव टेकनारायण पाण्डेले उक्त सुविधायुक्त गाडीले मानवीय जीवनलाई संकटबाट बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल उक्त गाडीलाई गुड्ने अस्पतालकै संज्ञा दिन्छन् । समारोहमा सशस्त्र प्रहरीलाई ६५ थान विपद् उद्दार सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । रासस