कल सेन्टरमा प्रहरी छापा

साउन ८, रूपन्देही । रूपन्देही प्रहरीले संगठित रूपमा सर्वसाधारणलाई ठगी गर्ने गिरोह पक्राउ गरेको छ ।  जिल्लाको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित रहेको ब्लु स्काइ विजनेश सोलुसन प्रालि नामक कल सेन्टरबाट सर्वसाधारणहरूलाई ठगी गर्ने गरेको सूचनाको आधारमा छापा मारेर एक जना भारतीयसहित ९ जना टिम लिडरहरूलाई पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार कल सेन्टरमा कार्यरत २ सय ४० जना कर्मचारीसँग सोधपुछ भइरहेको छ । कल सेन्टरबाट फोन कलरह्वाट्स एपमा म्यासेजरकल मार्फत चिठ्ठा पर्यो भन्दै सर्वसाधारणहरूलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

चिनियाँ र भारतीय नागरिकको लगानीमा सञ्चालित उक्त कल सेन्टरबाट २ सय ४० थान मोबाइल, सयौं थान कम्प्युटरलगायत ठगीमा संग्लनमा विभिन्न साम्रगी प्रहरीले बरामद गरेको छ । ४ तल्ले भवनको ३ वटा फ्लायटमा सञ्चालित उक्त कल सेन्टरको कोठाहरूलाई सिल गरिएको छ ।

सेन्टरबाट सर्वसाधारणलाई थोरै रकमको कर्जा दिने र पछि पीडितको मोबाईल नम्बरमा रहेको कन्ट्याकट नम्बर, फेसबुक, मोबाइलमा भएको तस्बिरहरू ह्याक गरी पीडितका आफन्त, साथीभाई लगायतको मोबाइलमा पीडितको अश्लील तस्बिररभिडियो पठाएर ब्ल्याकमेल गर्ने गरेको बुझिएको छ । जसका लागि ठगी गिरोहले कर्जा दिनु अघि सर्वसाधारणहरूलाई आफैले निर्माण गरेको व्हाट्स एप जस्तै एप डाउनलोड गर्न लगाउने गर्दछन् । जसकारण पछि उनीहरूलाई पीडितहरूको मोबाईल ह्याक गर्न सजिलो हुने गर्दछ  ।

सेन्टरका सञ्चालकहरूले कार्यालयमा एम वान, एम टू, एम थ्री, एम फोर, एम फाइभ, डी माइनस, एस वान र एस टू लगायत विभिन्न डिपार्ट वर्गिकरण गरी कर्मचारीहरू खटाइएका थिए  । उक्त डिपार्टका कर्मचारीहरूले समान्य कुराकानी देखि लिएर बल्याकमेल गरेर सम्म ठगी गर्ने गरेको बताईएको छ। ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ  । (अन्नपूर्ण पोस्ट्)

Translate »