२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

ट्राफिकद्वारा तीन करोड राजश्व संकलन



स्काई न्युज/ साउन १०, सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले तीन करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलंघन लगायतका जरिवाना वापत ३ करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३५ दशमलव ८२ प्रतिशतले बढी छ । त्यस आर्थिक वर्षमा कार्यालयले २ करोड ४४ लाख ८९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर ४ सय २ वटा सडक दुर्घटना भएका छन् । जसमा १ सय ९७ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा २ सय ३६, आर्थिक वर्ष २०७७÷७८ मा २ सय ९१ सडक दुर्घटना भएका थिए । पछिल्लो तीन आर्थिक वर्षमा सडक दुर्घटनाबाट ८ सय ७६ मानवीय र २१ पशुचौपायाको क्षति भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यस अवधिमा ९ सय ९२ सडक दुर्घटनामा परेर ३ सय ९२ जनाले ज्यान गुमाएका छन् भने १ हजार २ सय जना घाइते भएका हुन् । तर आर्थिक वर्ष २०७६/०७७ मा कोराना संक्रमणका कारण भएको लकडाउनले सवारी साधन कम चल्दा दुर्घटना न्यून देखिन्छ । यो तीन वर्षको अवधिमा सबैभन्दा ठूलो दुर्घटना २०७८ असोज २६ गते मुगुमा भएको थियो । मुगुमा भएको सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका हुन भने १३ जना घाइते भएका थिए ।

तीन वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । तथ्यांक अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका मानिहरुको धेरै मृत्यु भएको छ । ती मध्ये २० देखि २५ वर्ष उमेर समुहका १ सय ७२ जनाले ज्यान गुमाए । सडक दुर्घटनाको मुख्य कारण तीव्र गति देखिएको छ । तीव्र गतिका कारण तीन वर्षमा ५ सय ३९ वटा सडक दुर्घटना भएको कार्यालयले जनाएको छ । यस्तै यान्त्रिक कारणले १ सय ९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा जनशक्तिको कमि, स्रोत साधनको कम उपलब्धता, सडकको खराव अवस्था, सवारी चालकको लापरबाही, प्रविधि प्रयोगको अभाव लगायतका कारणले दुर्घटना न्यूनिकरणका लागि चुनौती देखिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताए । उनका अनुसार कर्णाली प्रदेश भरी २ सय १८ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जस अनुसार प्रति ट्राफिक प्रहरीले ६३ वटा सवारी साधन रेखदेख गर्नुपर्ने अवस्था छ । मापदण्डविना बनाइएका सडकहरु, अत्याधिक साँघुरा मोडहरु, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमि, खाल्डाखुल्डी र पहिरोका कारणले दुर्घटना बढ्ने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मंगलबार
Translate »