सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि काठमाडौंमा छलफल शुरु

स्काई न्यूज/ साउन १६, काठमाडौं । नेपाल सरकारले कर्णाली प्रदेशको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि काठमाडौंमा छलफल शुरु गरेको छ । जडिबुटी व्यवसायीहरुको व्यापक दवावपछि कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने गरी छलफल अघि बढाईएको हो । जडिबुटीको हवका रुपमा रहेको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि प्रदेशका जडिबुटी व्यवसायीहरुले लामो समयदेखि संघीय सरकारसँग माग गर्दै आईरहेका छन् ।
सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा सोमवार उद्योग मन्त्रालयमा काठमाडौंमा बसेको बैठकले जडिबुटी प्रशोधन केन्द्र निर्माणका लागि छलफल शुरु गरेको हो । बैठकमा कर्णालीसहित सुदूरपश्चिम प्रदेशका एक/एक स्थानमा जडीबुटी प्रशोधन केन्द्र निर्माणका लागि छलफल अघि बढाईएको मन्त्रालयले बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडू, मन्त्रालयका उच्च पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी तथा अन्य सम्बद्धहरूको सहभागितामा मन्त्रालयमा छलफल भएको थियो ।

छलफलमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उद्योगी व्यवसायीहरूले जडीबुटी प्रशोधन केन्द्र निर्माण प्रक्रियालाई छिटो अघि बढाउन आग्रह गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत जडीबुटी प्रशोधन केन्द्र स्थापन गर्ने भनी बजेट समेत विनियोजन गरेको छ । मन्त्रालयले पहिलो चरणमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने गरी छलफल अघि बढाएको हो ।
उच्च मूल्य र विविधतायुक्त जडीबुटी क्षेत्रका रुपमा रहेको कर्णाली र सुदरपश्चिम प्रदेशमा प्रशोधन केन्द्र स्थापना भएमा यहाँका नागरिकको आर्थिक आयआर्जनसँगैै बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । अहिले जडीबुटीबाट आउने राजश्व संघीय सरकारले उठाइरहेको छ । सरकारले कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी उत्पादनलाई प्रशोधन र प्याकेजिङ गरी बजारीकरण गर्न सके थप आन्तरिक राजश्वमा समेत बृद्धि हुने थियो ।