अबैध कुखुरा आयातले व्यवसायी मर्कामा

साउन २५, नेपालगञ्ज । बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैध रूपमा आयात हुँदा स्थानीय कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल–भारत सीमा जोडिएका नाकाबाट अवैध रूपमा कुखुरा दिनहुँजसो प्रहरीले बरामद गर्नुका साथै त्यसमा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई पक्राउ समेत गरेको थियो ।

बाँकेमा रहेका करीब ५०० पोल्ट्री फार्मबाट मासिक ३ लाख चल्ला उत्पादन हुँदै आएको छ । जिल्लाको पोल्ट्री व्यवसायमा करीब १५ करोड रुपैयाँ लगानी छ । भारतबाट अवैध रूपमा आयात भएको कुखुराका कारण पोल्ट्री व्यवसायमा गरेको लगानी डुब्ने अवस्थामा पुगेको कुखुरा व्यवसायी संघका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले बताए । भारतीय कुखुराको अवैध आयात नरोकिए व्यवसाय बन्द गर्ने चेतावनी उनले दिए । ‘भएका कुखुराको बजार राम्रो छैन, त्यसमा पनि अवैध रूपमा भारतीय कुखुराको आयातले हामी व्यवसायी मारमा परेका छौं,’ उनले भने । नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले बाँकेका नाकाबाट अवैध रूपमा भित्रिने कुखुराको मासु काठमाडौंसम्म पुगेको र यसले बजारमा प्रत्यक्ष असर गरेकाले नाकामा कडाइ गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको बताए ।

‘हामी मासु र अण्डामा पूर्णरूपमा आत्मनिर्भर छौं, तर नाकाबाट गैरकानूनी रूपमा कुखुराको मासु आउँदा मारमा परेका छौं,’ उनले भने, ‘भारतमा अहिले बर्डफ्लु भएको र त्यसको संक्रमण यहाँ पनि फैलने भएकाले तत्काल कुखुराको अवैध आयात रोक्नुपर्छ ।’ रासस

Translate »