सरकारी वकिल कार्यालय भवनको शिलान्यास

स्काई न्यूज /साउन २५, सुर्खेत । महान्यायाधिवक्ता खम्वबहादुर खातीले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतको भवन शिलान्यास गरेका छन् । महान्यायाधिवक्ता खातीले बुधबार वीरेन्द्रनगरमा एउटा औपचारिक कार्यक्रमका वीच अत्याधुनिक सुविधा सम्पन्न तीन तले भवनको शिलान्यास गरेका हुन् ।

भवनको शिलान्यास गर्दे महान्यायाधिवक्ता खातीले कर्णाली प्रदेशको राजधानीको मुटुमा बन्न लागेको भवनले फरक महत्व बोकेकाले गुणस्तर कायम गर्ने कुरामा कति पनि सम्झौता नगरी तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षसँग आग्रह गरे ।

उनले सरकारी वकील कार्यालयलाई भौतिक साधनस्रोतले सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील रहेको बताए । ‘सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण सरकारी वकील कार्यालयमा हुनुपर्छ,’ उनले भने, ‘नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुग्नुका साथै सरकारी वकीलहरुको कार्य सम्पादनमा व्यावसायिकता, सिर्जनात्मकता र नयाँपनमा बृद्धि हुनेछ ।’

उनले सुविधा सम्पन्न भवनबाट सरकारी वकीलको बौद्घिक तथा व्यावसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता नविकुमार भट्टले नयाँ भवनहरुको निर्माणले सरकारी वकील कार्यालयबाट दिइने सेवा थप प्रभावकारीसँगै गुणस्तरीय प्रदान गर्न सहयोग पुग्ने बताए । उनले ५ करोड लागतमा बन्न लागेको भूकम्प प्रतिरोधी भवन आगामी दुई वर्ष भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य रहेको जनाए ।

उनका अनुसार भवनको ठेक्का जिम्मेवारी जेवि कन्स्ट्रक्सन प्रालि सुर्खेतले प्राप्त गरेको छ । पहिलो पटक बनाउन लागिएको नमूना सरकारी कार्यालय भवनमा पीडित मैत्री कक्ष, बयान कक्ष, बाल निगरानी कक्षसँगै प्रोजेक्टसहितको बैठक कक्ष समेत बनाईनेछ ।

शिलान्यास कार्यक्रम जिल्ला तथा प्रदेश स्थित न्याय क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँगै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Translate »