चिसापानी–गुटु–मङ्गलसेन फास्ट ट्रयाक : निर्माण सुरु भएको ५१ वर्षपछि सडक कालोपत्रे हुँदै

स्काई न्यूज/ साउन २६, सुर्खेत । चिसापानी–गुटु–मङ्गलसेन फास्ट ट्रयाक सडक कालोपत्रे हुने भएको छ । कैलाली चिसापानी, सुर्खेतको गुटु र अछामको मंगलसेन जोड्ने फास्ट ट्रयाक निर्माण सुरु भएको ५१ वर्षपछि सडक कालोपत्रे गर्न लागिएको हो । सरकारले चिसापानी–गुटु–मङ्गलसेन फास्ट ट्रयाक सडक कालोपत्रे गर्न लागेको खबरले पश्चिम नेपालका नागरिकमा खुशी छाएको छ । यो सडक २०२४ सालबाट निर्माण सुरु भएको थियो । अछामका तत्कालीन जिल्ला सभापति पञ्चायतकालीन नेता स्वर्गीय हरिप्रसाद भण्डारीले सोही सडकबाट २०२४ चैत २४ गते जिल्ला सदरमुकाम मङ्गलसेनसम्म जीप पुर्याएका थिए । सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको र चालू आर्थिक वर्षदेखि कालोपत्रे हुने भएको हो ।
चालु आर्थिक वर्ष २०७९/२०८० मा भने सोही सडकखण्डको ५३ किलोमिटर पीच (कालोपत्रे) का लागि ठेक्काको तयारी थालिएको छ । कैलालीमा १०, सुर्खेतमा १८ र सबैभन्दा बढी अछाम खण्डमा २५ किलोमिटर गरी ५३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौता गरिने भएको हो । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर हरि शर्मा धितालका अनुसार सुर्खेतको कुँईनेदेखि १८ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का हुँदैछ । अन्य भौतिक संरचना निर्माणका लागि दुई खण्डमा काम जारी छ । यता कर्णाली प्रदेश सरकारको लगानीमा ‘सुर्खेत खण्डको कुइने–जामु–बाबियाचौर–भक्तडी–जंगलघाट सडक समेत पिच गरिने भएको छ । ‘कर्णाली प्रदेश सरकारले ४४ करोड रकम विनियोजन गरेको छ,’ उनले भने, ‘१८ किलोमिटर कालोपत्रे हुने गरी बाबिँयाचौरको भ्यागुते खोलासम्म पिचका लागि टेण्डर भएको छ । तीन किलोमिटर नाला निर्माण र स्ट्रक्चरको काम हुँदैछ ।’ कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्ष अगाडि २ करोड बजेट छुट्याएर ९ किलोमिटर बाटोको ट्रयाक खोलेको छ ।

तर, सुर्खेतकै घाटगाउँ–गुटुको बासपानी हुँदै जंगलघाट खडक खण्डको ट्रयाक खोल्ने काम बाँकी छ । उक्त सडक खण्डको ट्रयाक खोल्ने तर्फ प्रतिनिधि सभा सांसद नवराज रावत र कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले समेत चाँसो नदिएको स्थानीय बासिन्दा बताउँछन् । फास्ट ट्रयाकको अछाम खण्डमा कामले तीव्रता पाएपनि सुर्खेत खण्डको गुटुमा ट्रयाक खोल्ने काम नगरिँदा समस्या रहेको छ । यसअघि चौकुने गाउँपालिकाले ७/८ लाख रकम विनियोजन गर्दै केही स्थानमा ट्रयाक खोलेको थियो । अहिले बाबिचौर तर्फबाट केही ट्रयाक खोल्नुका साथै पक्की सडक निर्माणले गति लिएको छ ।
‘जलजला कन्ट्रक्सनले कटिङको काम मात्र गर्दैछ । अनथ–जयवेदी–सनराइज जेभीले चार किलोमिटर नाला बनाएको र तीन किलोमिटरमा नाला बन्न बाँकी छ,’ ईन्जिनियर धितालले भने । कुइने–बाबियाचौर–जंगलघाट कालोपत्रे सडकका लागि कर्णाली प्रदेश सरकारले ४४ करोड विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडकको १८ किलोमिटर कालोपत्रेका लागि चालु आर्थिक वर्षमा ठेक्का गर्दैछ । उता सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार तथा संघीय सरकारले एक अर्ब ४४ करोड रकम विनियोजन गरेपछि यो सडक कालोपत्रे सुरु हुने भएको छ ।
कैलालीमा १० किलोमिटर सडक कालोपत्रेका लागि ३ करोड, सुर्खेतमा १८ किलोमिटर सडक कालोपत्रेका लागि ४४ करोड र अछाममा २५ किलोमिटर सडक कालोपत्रेका लागि ९७ करोड विनियोजन गरिएको छ । चिसापानीदेखि मङ्गलसेनसम्म यो सडकको लम्बाइ १ सय २५ किलोमिटर मात्रै छ । अछाम, सुर्खेतका साथै बाजुरा, डोटी लगायत जिल्लाका स्थानीयलाई फास्ट ट्रयाक सडकबाट ठूलो राहत पुग्ने सरोकारवाला बताउँछन् । सडकले अछामको तुर्माखाँद, ढकारीको केही क्षेत्र, कमलबजार र मङ्गलसेन नगरपालिकाको केन्द्र छुनेछ । यो सडकले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई सडक सञ्जालसँग सिधै जोड्ने छ ।