२०८३ असोज ११ , आइतबार
Sky News Nepal
September 27, 2026

मिटरब्याज पीडितहरूलाई भदौ ५ सम्म उजुरी दर्ता गर्न सरकारको आह्वान



साउन २८, काठमाडौं । सरकारले देशैभरका मिटरब्याज पीडितहरूलाई आउँदो भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ । गृहमन्त्रालयले शनिबार सूचना प्रकाशित गरी मिटरब्याज पीडितहरूलाई यथासम्भव प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा २०७९ भदौ ५ भित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न सूचनामा भनिएको छ ।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि शोषण गरेको घटना सार्वजनिक भएका छन् । ती घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइए पनि अझै धेरै पीडितहरूले कानूनी उपचारका लागि पहल गर्न नसकेपछि सरकारले गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न डा. भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेकाे हो ।

कार्यदल सदस्यहरूमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्यूराेमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिबार
Translate »