सुर्खेत ट्राफिकको दुर्घटना न्यूनिकरण अभियान : ‘राडर गन’ सहित ट्राफिक प्रहरी सडकमा

स्काई न्यूज /साउन ३१, सुर्खेत । तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न सुर्खेतमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पिड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो । सुर्खेतमा भएका दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्यांकले देखिएको छ । उक्त दुर्घटना मध्ये अधिकांश रत्नराजमार्ग, सुर्खेत–जुम्ला राजमार्ग र सुर्खेत–दैलेख सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक नेत्रबहादुर कँवरले बताए ।
‘जिल्लाका राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान शुरु गरेका छौं,’ उनले भने, ‘राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने ५ सय सवारी साधनलाई कारबाही गरेका छौं ।’ दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले रत्न राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई सुर्खेत–जुम्ला राजमार्ग र सुर्खेत–दैलेख सडक र छिन्चु–जाजरकोट सडकमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ ।

त्यस्तो गाडी तीव्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बरसहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पिडका त्यस्ता सवारी साधन रोकेर सम्झाइबुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरी सहायक हवल्दार तिलकप्रसाद आचार्यले जनाए । ‘कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकाले तत्काल सप्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको छ,’ उनले भने, ‘राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीव्र गतिमा अधिकांश मोटरसाइकल, निजी कार, अटो रिक्सा ट्रिपरसँगै सरकारी गाडी र स्कुल बस पनि कारबाहीमा परेका छन् ।’ उनले पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट २ सय र मंगलबार ३ सय गरी कुल ५ सय सवारीसाधनका चालकलाई कारबाही गरिएको जनाए ।
सुर्खेतमा आर्थिक वर्ष २०७८/७९मा ३ सय ४९ वटा दुर्घटना भएकोमा ३२ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनाहरुमा धेरै तीव्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौं अरुलाई बचाऔं, ट्रिपर हाइवे चेकजाँचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारबाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान सुर्खेत ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।