तराई–पहाड जोड्ने छोटो मार्ग

यातायात विश्वव्यापी आवश्यकता हो । सडकबिना यातायात असम्भव जस्तै हुन्छ । सडकको पहुँच भयो भने शिक्षा र स्वास्थ्यमा पहुँच पुग्छ । सडकका बहुआयामिक फाइदा हुन्छन् । सडकले ढुवानी सहज हुन्छ । सडक भए मात्र राज्यको उपस्थिति हुन्छ । विकासको इन्जिन भनेकै सडक हो जसले अरु डिब्बाहरु तान्ने काम गर्छ । अर्थात् सडक बनेपछि क्रमशः विकासका थुप्रै आयाम थपिन थाल्छन् । जसले जनजीवन सहज मात्र बनाउँदैन बरु समग्र जीवनशैलीमा नै परिवर्तन ल्याउन थाल्दछ । खासगरी संघीयता सुरु भएयता ७५३ स्थानीय सरकार बनेपछि जनप्रतिनिधिबीच सडक खन्ने होड नै बढेको छ । अहिले देशको आर्थिक, सामाजिक, एवं सामरिक दृष्टिले समेत महत्व बोकेका सडक बन्न सकेका छैनन् । राज्यले अब बन्न नसकेका आवश्यकतामा आधारित सडक बनाउने तर्फ ध्यान पु¥याउनु पर्छ । जस्तै चिसापानी–गुटु–मंगलसेन सडक देश समृद्धिका लागि अपरिहार्य नै हो । तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामासमेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३ सय ९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दुरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले ओझेलमा पर्दै गएको हो । कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुन्छ ।
तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ । नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ । उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने छ । अहिले बेतन कर्णाली जलविद्युत आयोजनासँगै माथिल्लो कर्णाली आयोजनाका लागि पनि त्रि–देशीय सडक बन्न अति जरुरी बनि सकेको छ । हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने छन् । यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुने छ । कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भएपछि सुर्खेतको पश्चिम क्षेत्रको विकासमा समेत ठूलो टेवा पुग्नेछ । तर, पश्चिम सुर्खेतबाट राजनीति गर्ने विभिन्न दलका नेताहरुको बैचारिक चेतनाको कमीसँगै विकासका लागि दूरदृष्टि नहुँदा ढिलाई भईरहेको छ । अहिले सबैभन्दा ठूलो समस्या भनेकै पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको साल्म–जंगलाघाट मात्र ४ किलोमिटर ट्¥याकले त्रि–देशीय सडकको परिकल्पानालाई अगाडि बढ्न अवरोध गरेको छ ।

संयुक्त राष्ट्रसंघ चार्टरका अनुसार विकासले सामाजिक अवस्था पनि सुधार गर्छ । विकासमा सामाजिक विकास मात्र पर्दैन, सँगै सामाजिक, सांस्कृतिक र संस्थागत विकास पनि गर्छ । सडक सञ्जाल निर्माण हुनु भनेको यी सबै विकासको आधार खडा हुनु हो । जनताको जीवनशैलीमा परिवर्तन देखिए मात्र देशको विकास भएको देखिन्छ भन्ने विकासविद्हरुको भनाइ विश्लेषण गर्ने हो भने त्यो सडकबाटै सुरु भएको देखिन्छ । सडक निर्माणमा अनेक समस्या देखिए पनि यसका बाबजुद बनेका सडक सञ्जालले अन्ततः विकास नै हुने हो । अझ दिगो विकासका लागि सडक पुल बन्ने हो भने नागरिकको जीवनशैली उच्च हुनेमा दुईमत छैन । भौगोलिक र आर्थिक क्षेत्रहरुलाई जनजीवनसँग जोड्दै राष्ट्रिय यातायात प्रणालीको गुणस्तरीय विकास गर्नु आजको आवश्यकता हो । यसका लागि मुख्य आधार सडक भए पनि रेलमार्ग, हवाईमार्ग, जलमार्ग, सुरुङमार्ग, फ्लाईओभर, केबुलकार आदि अनेक विकल्प पनि छन् । तर झन्डै ९० प्रतिशतले उपभोग गर्ने सडक सञ्जाललाई गुणस्तरीय व्यापकता दिने हो भने गरिबी निवारणदेखि पर्यटन प्रवद्र्धन हुँदै समग्र दिगो विकास हुने देखिन्छ जसले अन्ततः नागरिकको जीवनशैलीमै आमूल परिवर्तन ल्याउने छ ।